रिचार्ज कार्ड घुस, ट्राफिक प्रहरीमाथि सजायको माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ हजार रुपैयाँ र मोबाइलको रिचार्ज कार्ड घुस लिएको दाबीसहित २ ट्राफिक प्रहरीमाथि सजायको माग गरेको छ । आयोगले दुवैविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
सजाय माग गरिएकोमा ट्राफिक पोस्ट बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र प्रहरीजवान हरिचन्द्र बानियाँ छन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले सवारीसाधन परीक्षणका क्रममा बालुवा ढुवानी गर्ने टिप्परबाट उनीहरू दुवैले दुई हजार रुपैयाँ घुसबापत लिएको दाबी गरे ।
उनले अनुसन्धानका क्रममा बानियाँबाट आयोगको टोलीले २ हजार ९ सय रुपैयाँको विभिन्न कम्पनीको रिचार्ज कार्ड र मानन्धरबाट घुसबापतको रुपियाँसहित एक हजार २ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस रिचार्ज कार्ड