मुख्य समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले सोमबार शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तीज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताएकी छिन् । 

सन्देशमा उनले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताएकी छिन् । 

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तिज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताएका छन् । उनले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । 

नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तिजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् । “नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तिजको विशेष महत्व छ,” तिजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताएका छन् । 

“राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ, महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।  

विद्यादेवी भण्डारी केपी शर्मा ओली शुभकामना तीज पर्व

विशेष