कभर स्टोरी फोटो

भगवान भरोसा

भगवान भरोसा

हरि न्याैपाने

काठमाडौँ । काम विशेषले दोलखा जानुपर्ने थियो । आफ्नो गृहजिल्ला बेलाबेला गइरहनुपर्ने हुन्छ । यस पटकको काम १ घण्टामा सकिने थियो । विहान करिब ६ बजे दोलखा जान कोटेश्वरबाट लागियो । अघिपछि बढीमा ५ घण्टामा पुगिने बाटो हो । ठूलो पाखर नजिकसम्म सहजै पुगियो । जब १८ किलो भन्ने स्थानमा पुगियो, पिच गरेको सडक भत्काइएको छ अनि सडकभरी माटै माटो छ ।

हामी चढेको बस ठूलै कसरतले माटोमाथि छेउभित्तो गर्दै गुड्दै थियो अलि माथि पुगेपछि बस बीच बाटोमा फस्यो । सबै जना लागिपरे । सकेको ठेले केही सिप लागेन । बसका टायर मात्र माटोमाथि घुमिरहे । साँढे नौ बजे पुगेको बस झण्डै ३ घण्टाको प्रयासमा पनि कसैको केही चलेन । अघिपछि बसको लाम लाग्यो । ३ घण्टा बढी समय बितेपछि एक डोजर आयो । डोजरले डोरी लगाएर बस फसेको स्थानबाट उद्धार गर्यो । अब त घर पुगिने भयो भनेको फेरि अलि माथि आएपछि अर्को स्थानमा फस्यो ।

त्यसपछि फेरि पुरानै सबै प्रक्रिया सुरु भयो तर केही लागेन । उद्धार गरिदिने डोजर दुई किलोमिटर तल अन्य फसेका गाडीहरुको उद्धारमा व्यस्त थियो । एक घण्टाको कुराईपछि सोही डोजर आयो अनि उद्धार गरिदियो । त्यतिञ्जेल २ बज्न लागिसकेको थियो । यात्रुहरु सबै भोकै थिए । अनि सकेको सत्तोसराप गर्न थाले । कसैले सरकारको कसैले ठेकेदारको अनि कसैले दोलखाका नेताहरुको गाली गरे । त्यो भीडमा म पनि थिएँ सुनेर बसेँ । त्यो भन्दा अन्य विकल्प कोही कसैसँग थिएन पनि । अचेल गाउँ गाउँमा सिंहदरबार छ । संघीयता छ स्थानीय सरकार छन् जनप्रतिनिधि यी परिघटनाबीच अब मैँले कारण खोतल्नुथियो । 

लापर्बाही कसको ? 

दोलखा जिल्लाको लाइफलाइन हो लामोसाँघु–जिरी सडकखण्ड । यो खडक खण्ड हिलोका कारण सवारीसाधन चल्नै नसक्ने अवस्थामा पुग्नुको पछि को जिम्मेवार छ ? उत्तर सहज छ सो सडक खण्डको स्तरोन्नतिमा ठेकेदार कम्पनीले गरेको ढिलासुस्तीका कारण यात्रु सास्ती खेप्न बाध्य छन् । ठेकेदार कम्पनीमाथि सरकार तथा जनस्तरबाट व्यापक दबाब परे पनि सुधार हुन सकेको छैन ।

जसले गर्दा दशैँका मुखमा घर जानेले ठूलो कष्ट र सास्ती झेल्दैछन् । अर्कोतर्फ ठेकेदारले हिउँद लागेपछि मात्र काम गर्ने अनि गरिएको काम पनि झारा टार्ने प्रवृत्तिको हुँदा समस्या बल्झिँदो छ । सोही बसमा यात्रा गरिरहेका यात्रु गणेश प्रसाईँ भन्छन् –‘‘म चरिकोट काठमाडौँ बसमार्फत ओहोर दोहोर गरिरहन्छु । ४–५ घन्टामा गन्तव्य पुग्न सकिने यात्रा १०/१२ घण्टा लाग्ने भयो ।’’

त्यसो  त सडक निर्माणमा लापर्बाही गर्ने ठेकेदरालाई कानून बमोजिम सकिनेजति जरिवाना गरिएको पनि छ । आयोजनाले ठेकेदार कम्पनीलाई कानून बमोजिम गर्न सक्ने जति जरीवाना लगायत कारबाही गरिसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजना प्रमुख धर्मेन्द्र झाले बताए ।

खाडीचौर–मुढे २५ किलोमिटर सडक खण्डको काम सन् २०१५ को अक्टोबरमा भारतीय कम्पनी सिमाञ्चल तथा नेपाली कम्पनीहरू गौरीपार्वती र सुनौला खिम्तीलाई जिम्मा दिइएको थियो । सन् २०१७ को अक्टोबरसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त कामको लागत रू. ३९ करोड २६ लाख थियो । यसैगरी मुढे–चरीकोट २७ किलोमिटर सडक खण्डको कामको ठेक्का सन् २०१५ को जुन १४ मा भारतीय कम्पनी सकिल हैदर तथा नेपाली कम्पनीहरू शंकरमाली र सुनौला खिम्तीलाई दिइएको थियो ।

यी कम्पनीले सन् २०१८ को १ मार्चसम्ममा  सक्नेगरी रू. ७० करोड ७० लाख ३४ हजारमा ठेक्का पाएका थिए । स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किमी सडक निर्माण भएको थियो । सवारी चाप बढेसँगै भारतीय एक्जिम बैंकको ऋण सहयोगमा दुई लेनमा विस्तार तथा स्तरोन्नति गर्न लागिएको हो । तर काम भएकै छैन । 

भगवान भरोसा

दोलखा–काठमाडौँ चल्ने यो बसका चालकको ढोकामा लेखिएको छ ‘भगवान भरोसा ।’ अक्सर नेपालको सडक यातायातमा यात्रा भगवान भरोसामैँ छ किनकी दैनिक दुर्घटना नभएको दिन नै छैन । अधिकांश दुर्घटनाहरु भवितब्य हुन्छन् । तर यहाँ त मानवनिर्मित दुर्घटना निम्तिने खतरा थियो । चालकको माथि लेखिएको भनाइ अनि सडक निर्माणको काम गराइ हेर्दा लाग्छ ‘भगवान भरोसा ।’

विशेष