हाम्रो संस्कृति र तीज पर्वको महत्त्व
–केशव आचार्य
विश्वका सम्पूर्ण मानव समाज प्रति दृष्टि लगाएर हेरौँ या भूमण्डलको कुनै सानो भन्दा सानो र ठूलो भन्दा ठूलो भूखण्डलाई हेरौँ कुनै पनि जाति समुदाय हरु पर्व र उत्सव देखि पर छैनन् । आफ्नो रीति परम्परा अनुसार सबैले पर्व र उत्सव मनाउँछन् नै ।
हाम्रो वैदिक सनातन धर्म संस्कृति भित्र पनि अनेकौं चाडपर्वहरु छन्, ती चाडपर्वहरु कुनै ले संस्कार र संस्कृतिको पाठ सिकाउँछन् भने, कुनै ले धार्मिक र आध्यात्मिक साधनाको सन्देश दिएका हुन्छन् , कोही चाडपर्वले आपसी सद्भावन र प्रेम गर्न सिकउँछन् भने, कोही पर्व बाट समाजमा एकता र संगठन गराउने जस्ता पवित्र सन्देश पाउन सक्छौं , यो हाम्रो पर्वको विशेषता हो।
त्यसैगरी नारीहरुको चाड भनेर चिनिने हरितालिका तीजपर्व सम्पूर्ण हिन्दूनारी जगतको महान पर्व हो । सामाजिक , साँस्कृतिक र धार्मिक महत्त्व बोकेको तीज पर्व भाद्र शुक्ल तृतीया तिथिमा मनाउने परम्परा छ ।
यस पर्वको अवसरमा विशेष रुपले आफ्ना दाजुभाइले दिदीबहिनी लाई घरमा बोलाएर मिठो मिठो दर खुवाउने गर्दछन् । यसै अवसरमा दिदीबहिनीहरु पनि दर खाएर खुसीको साथ छम् छम् नाच्ने र रमाउने गर्दछन् ।
यसैगरी आफू जन्मेको घर मातापिता भाई बहिनी इष्टमित्र र गाउँघर र समाजलाई चटक्कै छोडी पराई घरमा जीवन बिताउँदाको दुःख र विभिन्न जिम्मेवारीको दुखलाई अनि माइतीको सम्झनालाई कमी गर्ने एउटा सुनौलो अवसरको रुपमा पनि तीजको गहन महत्त्व रहेको छ ।
यस पर्वले नौ डाँडा पारीको माइतीघर र बिछोडिएका सम्पूर्ण दिदीबहिनी हरुलाई एकै ठाउँमा मिलन गराउने एउटा सेतुको रुपमा रहेको पनि पाइन्छ । विवाह पछि छुटेका अनि माइतीबाट आमाको न्यानो काख छोडेर बिल्कुलै नयाँ घर संसारमा जोडिन पुगेका हरेक हिन्दूनारी चेलिबेटी हरुका लागि एक गराउने अनि माइतीको आँगनमा पाइला राख्ने सौभाग्य दिन्छ यस पर्वले।
हरितालिका तीज आस्था विश्वास अनि प्रेमको पर्व पनि हो, विवाह पश्चात् एक नारीको आस्था विश्वास र प्रेम पतिदेवमा केन्द्रित हुन जान्छ , पत्नीले निष्ठा , प्रेम, आस्था र विश्वासको प्रतीक मानेर पुजित गर्दा निश्चयनै पतिको हृदयमा पनि सोहीभाव जागृत भएर आउछ र यसबाट पति पत्नी विचको घनिष्ठ सम्बन्ध स्थापित हुन्छ । जहाँ पति पत्नीमा गाढा प्रेममय सम्बन्ध हुन्छ , त्यहाँ परिवार अवस्य सुखी र स्वर्गीय आनन्द हुन्छ ।
धर्म वा ईश्वरमा विश्वास र श्रद्धा गर्ने मानिस कहिले पनि एक्लो महशुस हुँदैन । ईश्वर प्रतिको आस्थाले मानिसमा उच्च इच्छाशक्तिको प्रादुर्भाव हुन्छ , नैतिक बल र ठूलो साहस उत्पन्न गरिदिन्छ , फलतः मानिस कुकर्म , कुविचार , अन्याय र अत्याचार गर्नबाट रोकिन्छ र पौरखी , साहसी र कर्तव्य परायण हुन्छ ।
महिलाहरु लाई पराई घरको विभिन्न जिम्मेवारी वहन गरेको दुःख र यसरी आफू जन्मेको घर माता पिता , दाजुभाइ , बहिनी , इष्ट मित्र र समाजलाई चटक्कै छोडेर पराइ घरमा जीवन बिताउँददा आउने माइतीको याद लाई कमी गर्ने सुनौलो अवसरको रूपमा पनि तीज पर्वको गहन महत्त्व रहेको छ।
दर खाएका भोलिपल्ट विहानै उठि स्नान गरि निधारमा राम्रा राम्रा टीका र कानमा कुण्डल लगाई नाडीमा छम् छम् बज्ने चुरा बजाउँदै चौवन्दी चोलिमा सजिई, हरियो पोतेमा तिलहरी सजाई , शिरमाथी शिरफूल ढल्काई , सिउँदोमा सिन्दूरले रंगाई आफ्नो मन आफ्नै पनमा बडो उत्साह र जाँगरका साथ नृत्य गर्न मठ मन्दिर र चौतारी हरूमा पुग्दछन् ।
यस अवसरमा नारी हरुले निराहार रही निर्जला व्रत बस्ने गर्दछन् । विवाहित नारीले आफ्नो पतिदेवको चिरायु र दीर्घायु एवं पारिवारिक सुख समृद्धि , सन्तान सुख र अटल सौभाग्यका लागि व्रत बस्ने गर्छन् भने विवाह नभएका अविवाहित नारीले भने जस्तो चाहे जस्तो राम्रो पति मिलोस् भनेर व्रत बस्ने गर्दछन्। आफ्नो मात्र नभएर समस्त परिवारको हितका लागि कठोर व्रतको नियम पालना गरि व्रतबस्ने ती नारीहरु धन्य हुन।
तीज पर्वको नामकरण
आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका
सखिहरुले हरण गरेर लगेका अवस्थामा माता पार्वतीले तृतीया तिथिमा व्रत गरेको हुनाले यस व्रतको नाम हरितालिका तीज रहन गएको हो ।माता पार्वतीले बालक कालदेखि नै महादेव पतिरुपमा पाऊँ भन्ने जुन दृढ संकल्प थियोे सो पूरा गर्न वनमा शिवलिंगको निर्माण गरि भदौ शुक्लपक्ष हस्ता नक्षत्र र सोमबारले युक्त भएको तृतीया तिथिमा पूजा व्रत र अनुष्ठान एवं शिव आराधना गर्नु भएको हुनाले, त्यहाँ बाट यस पर्वको शुरूवात भएको मान्यता छ ।
जुन हेतु माता पार्वतीले व्रतको अनुष्ठान गर्नु भयो त्यस व्रतको फलस्वरूप देवाधिदेव महादेव पतिरुपमा प्राप्त गर्नु भयो । व्रतको प्रभाव र आफ्नो दृढ़ संकल्प अनि इच्छाशक्तिले गर्दा भगवान शिवको सानिध्य पाउनु भयो ।
यसकारण यो तीज व्रत प्रत्येक हिन्दू नारीहरुका लागि संकल्प पूरा गर्ने विशेष महत्त्वपूर्ण पर्वको रुपमा लिइन्छ । आफ्नो र आफना परिवारको कल्याण चाहने नारीले यो व्रत अवश्य गर्नु पर्नेछ ।
धार्मिक , सामाजिक, र साँस्कृतिक पक्षले समेटिएको अति रमाइलो पर्वको रुपमा पाइन्छ ।
यो लोकदेखि परलोक सम्मको सुख प्रदान गर्ने , ईश्वरमा भक्ति र आस्था जगाउने, पारिवारिक सुख शान्ति र दीर्घायु दिने, आफूलाई अटल सौभाग्य प्रदान गर्ने, आफ्नो र माइतीघरको सम्बन्ध सुदृढ बनाउने, समाजमा एकता र संगठन विस्तार गराउने अनि हाँसी खुसीको साथ जीवन जिउन सन्देश यो पर्वले दिएको छ ।
तीज पर्व आफ्नै मौलिक परम्परा , आफ्नै भेष भूषा, आफ्नै भाषा साहित्य आफ्नै भाकालयमा अनि आफ्नै शुद्ध संस्कार संस्कृतिले ओतप्रोत भएको पवित्र चाडपर्वको रुपमा लिइन्छ, यस पर्वले बोकेको ऐतिहासिक सामाजिक, साँस्कृतिक एवं धार्मिक महत्त्वको मौलिक परम्परालाई संरक्षण गर्दै सुसभ्य तरिकाले मनाउनु तपाई हामी सबैको जिम्मेवार हो।
यस पर्वले नारीहरुलाई आफ्नो कर्तव्य र धर्म संस्कार संस्कृतिको मार्ग नछोडी आफ्नै धर्मको छत्रछायामा आदर्शमय जीवन बिताउन सिकाउने सन्देश दिएको नारीका लागि एक अद्वितीय महान पर्वतको रुपमा चिनिन्छ ।।यस पर्वको महत्त्व लाई बुझेर हाम्रो धर्म संस्कार र संस्कृतिको मूल्यमान्यता र तिनीहरूको मौलिकता लाई लोप हुन दिनुहुँदैन।
धार्मिक सामाजिक एकता र संगठन लागि अनि संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पनि यो पर्व मनाउँदै जानु पर्दछ । आज भोलि यो पर्व विकृति विसंगतिका रुपमा विकसित हुँदै गएको देखिन थालेको छ , आधुनिक शैलीमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतमै दाग लाग्ने गरि परिवर्तन गर्नु राम्रो कुरा होइन ।
सामाजिक र धार्मिक सद्भाव अनि सांस्कृतिक रस लाई उपेक्षा गरेर उत्ताउलो गीत र नाच आयोजना नगरी आफ्नै मौलिक परम्परा भित्र मनाउनु होला । नाच्नु गाउनु आफैमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र आफ्नै शुद्ध संस्कृतिको गौरव बढाउँदै, रम्दै र जम्दै जीवनलाई मूल्यवान बनाउन सक्नुपर्छ ।
नाचौं नचाऔँ संस्कृति बचाऔँ , हाम्रो संस्कृति हाम्रो पहिचान, आफ्नो पन जातीयताको पहिचान ।
नारीको सिउँदोमा सिन्दूर सजिदै रहोस ।
नारीको गलामा पोते झूल्दै रहोस ।
नारीको निधारमा टीका टल्किदै रहोस ।
नारीको हातमा चुरी बज्दै रहोस ।
नारीको जिब्रोमा मातृबोली सुसेलिदै रहोस ।
नारीको चरित्ररुपी सुबास विश्वभरी छरिदै रहोस।
नारीको एकता र संगठन विश्वभरी बनी रहोस ।
नारीको मान सम्मान विश्वभरी छाई रहोस ।
–संस्कृत स्नातक मण्डली, थाइल्याण्ड