दशैँ महत्व र उपादेयता
केशव आचार्य
आश्विन शुक्ल प्रतिपदाको दिनदेखि दशमी पर्यन्त घर घरमा र मठ मन्दिर एवं शक्तिपीठहरुमा घटस्थापना र जमरा राखी श्री दुर्गा भवानी माताको विधिवत रुपमा पूजापाठ ,आराधना र अनुष्ठान गर्ने शास्त्रीय मान्यता छ । बर्ष भरिको अति ठूलो चाडको रुपमा पनि दशैँ मनाउने परम्परा छ ।
घटस्थापनाको दिन सनातन हिन्दू धर्मावलम्बीहरुले वैदिक परम्परा अनुसार आ–आफ्नो घर वा पूजाकोठामा विधिपूर्वक दियो कलश गणेश र देवीको पूजा पाठ गरी जौ, गहुँ र मकै लगायतका अन्न रोपेर जमरा राख्ने चलन छ ।
देवीको आराधना गरेर राखेको जमरा विजया दशमीका दिन टिकासँगै लगाइन्छ । शास्त्रीय मान्यता अनुसार पनि भगवान श्री रामले दशमीकै दिन रावणको बध गर्नु भएको थियोे । यसलाई असत्य माथि सत्यको विजयको रुपमा मनाइन्छ । यसकारण यस दिनलाई विजया दशमीको नामले पनि जानिन्छ । विजया दशमी भन्नाले विजय प्राप्त गरेको दिन भन्ने बुझिन्छ , असत्य माथि सत्यको ,हिंसा माथि अहिंसाको,अधर्म माथि धर्मको , अन्याय माथि न्यायको , कुरीति माथि नीतिको, दुराचार माथि सदाचारको आदि आदि।
दशैँका नवरात्रका नौदिन सम्म शक्तिको उपासना गरिन्छ । देवीको उपासना गरिन्छ । जीवन भित्र लुकेर बसेको आत्मबल, उर्जाशक्ति,प्रतिभा , प्रेम,शान्ति र आनन्द लाई प्रकट गराउन नयाँ आध्यात्मिक यात्राको प्रारम्भ गरिन्छ । हामी भित्रको आस्था ,भक्ति ,विश्वास ,सरलता ,सत्यता र शाश्वत ज्ञानको स्फुरण र सुखमय एवं आनन्दित जीवनको लागि ममतामयी भगवती माताको भक्ति गरिन्छ ।
शक्तिको उपासना गरि आफूमा भएको नराम्रो प्रवृत्ति अर्थात काम, क्रोध ,लोभ, मोह, राग, द्वेष , ईर्ष्या, छल, कपट, आदि जस्ता नकारात्मक विचार माथि पूर्णतया विजय प्राप्त गरि शान्त , सरल,समृद्ध , भाइचारा , दया, करुणा ,सद्भाव , सेवाभाव र कर्तव्य परायणको भावनालाई अभ्युदय गर्ने गराउने गरिन्छ ।
विजया दशमीका दिन माता दुर्गाले दानवीय शक्तिमाथि अर्थात् महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
नवरात्रका दिनहरु के के गरिन्छ ?
नवरात्रको पहिलो दिन घटस्थापना गरि नौ दिन सम्म शक्ति स्वरुपा भगवतीको पूजा गर्ने , देवी महात्म्य पाठगर्ने गरिन्छ । प्रत्येक दिन फरक फरक माता दुर्गाका नौ स्वरुपको पूजा हुन्छ , प्रतिपदा देखि क्रमशः शैलपुत्री , ब्रह्मचारिणी , चन्द्रघण्टा , कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री गरि नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरि महाकाली महालक्ष्मी र महासरस्वतीको पनि विशेष आराधना गरिन्छ ।
नवरात्र भरिको महत्त्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाष्टमी कालरात्रि महानवमी र विजया दशमी यी चार दिनको महत्त्व भने अझ बढी हुन्छ । नवरात्रिको पहिलो दिन अर्थात् घटस्थापना र अखण्ड दीप प्रज्वलन , हाम्रो धर्म संस्कृति अनुसार सम्पूर्ण देवी देवता , ब्रह्मा, विष्णु, महेश, चार वेद , सागर , सप्तद्वीप, समस्त नदी एवं तीर्थ हरु कलशमा अर्थात् घटमा स्थापित हुन्छन् ।
यसका अतिरिक्त कलशमा अष्टमंगलका शुभ चिन्हहरु द्वारा पूजित गरि, वैदिक मन्त्रद्वारा घट अर्थात् कलश स्थापना गरि त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ , पावनी नदी, नाला, सप्तसागर, सप्तद्वीप आदि सबैलाई समाहित गरि अथवा आह्वान गरि शुभ सूचकको प्रतीक मानि दशैं पूजाको थालनी गरिन्छ । साथै अखण्ड दीप बालेर नवरात्रिको पूजापाठ गर्ने गरिन्छ । दीपलाई ज्ञान र उज्यालोको प्रतीक मानिन्छ, पहिलो दिनमा शैलपुत्री माताको विशेष आराधना गरिन्छ ।
नवरात्रिको सातौं दिन अर्थात् सप्तमी यो विशेष दिनलाई फूलपाती भनिन्छ । गाउँ घर र नगर परिक्रमा गरि विभिन्न प्रकारका फूलपाती भित्र्याइन्छ । केरा, दारिम, धान, हलेदो हरिद्रा, माने मानक, कर्चर कचु, बेलपत्र , अशोक र जयन्ती पत्र पत्रिका लाई फूलपाती वा नवपत्रिका भनिन्छ । विभिन्न प्रकारको फूलपात सम्मिश्रित फूलपाती भित्र्याइन्छ, यही फूलपातीका प्रत्येक पत्रमा एक एक देवीको पूजा गर्ने चलन छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा संगीतकि देवी सरस्वती माताको पनि विशेष पूजाअर्चना गरिन्छ ।
नवरात्रिको आठौं दिन अर्थात् महाष्टमीका दिन कालरात्रि पूजा गर्ने विधि शास्त्रमा बताएको छ । त्यसदिन शस्त्र अस्त्रहरुको पूजा गर्ने परम्परा छ । माताको कृपा र शक्ति पाउन यस दिन साधना गरिन्छ खिरको हवन गरि अन्त्यमा बलि दिने चलन छ । संस्कृतमा बलिको अर्थ त्याग गर्नु अर्पण गर्नु अथवा कुनै पनि कुरा त्यागिदिनु भन्ने बुझिन्छ । अष्टमीको दिन हामीले आफ्नो काम, क्रोध , लोभ, ईर्ष्या , मोह, आदि दुर्गुण हरुको अन्त्य होस भनेर कुभिण्डो र नरिवलको बलि चढाएर एउटा असल मनुष्य बन्ने संकल्प गर्नुपर्छ । यस दिन महागौरी माताको पूजाअर्चना गरिन्छ ।
नवरात्रिको नवौं दिन अर्थात् महानवमी यस दिन नवौं शक्ति स्वरुप माता सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । कन्या पूजा नवरात्रभर नवदुर्गाको पूजाका साथ साथै प्रत्येक दिन एक एकवटी कन्यालाई पूजा गर्ने चलन छ प्रत्येक दिन फरक फरक उमेर भएकि दुई वर्ष देखि दश वर्ष सम्मकी कन्यालाई बस्त्र अलंकार सहित पूजा गर्ने विधान छ । प्रत्येक दिन कन्या पूजा गर्न अनुकूल नहुँदा नवमीका दिन देविस्वरुपा नौजना कन्या लाई प्रतीक मानि पूजा गरिन्छ । साथै चण्डीका प्रत्येक मन्त्र द्वारा हवन गरि तिलक लगाउने प्रचलन पनि छ।
नवरात्रिको दशौं दिन अर्थात् विजया दशमीको दिन दैवी शक्तिले आसुरी शक्तिलाई पूर्णतया पराजित गरेको प्रतीक स्वरुप र असत्य माथि सत्यको विजयको रुपमा विजया देवीको पूजा आजा गरि जमराहरु माता लाई अर्पण गरि देवी विसर्जन गरि घटस्थापना गरेकोे कलशको जलले वैदिक मन्त्र द्वारा अभिषेकगरि बुढापाका हरुको हातबाट आशीर्वाद स्वरुप जमरा फूल प्रसाद ग्रहण गरि दशैँ मनाइन्छ ।
गहुँ र जौको अंकुर लगाउनाले सुख, शान्ति , समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । निधारमा विजया देवीको प्रसाद स्वरुप दही र रातो टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा मानसिक अशान्ति बाट बच्न सकिन्छ , जमरा शीतलता र नूतनको प्रतीक हो ।
विजया दशमीको टीकामा पुरुषलाई दिने आशीर्वचन,
आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
स्त्रीलाई दिने आशीर्वचन ,
भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ,
रक्षतु त्वां सदा देवा आशीषः सन्तु सर्वदा ।।
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ,
दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
जयत्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ,
जय सर्व गते देवि कालरात्रि नमोस्तुते ।।
-संस्कृत स्नातक सेवा मण्डली, थाइल्यान्ड