Technology

अब अरूको सिमकार्ड चलाउन नपाइने

अब अरूको सिमकार्ड चलाउन नपाइने

काठमााडौं : अब अरुका नाममा भएको सिमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ। जसले प्रयोग गरिरहेको हो, उसैको नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी गर्ने नेपाल दूरसंचार प्राधिकरणको तयारी छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जारी भएका सबै सिम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए। ‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत् सबै प्रयोगकर्तालाई अरुका नाममा भएको सिमकार्ड प्रयोग गरिरहेको भए आफ्ना नाममा ल्याउन म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने।

तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए। 'यसबारे पछि निर्णय गर्छौं' उनले भने।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमबाट असारसम्ममा २ करोड २ लाख सिमकार्ड जारी भएका छन् भने एनसेलले एक करोड ६६ लाख सिमकार्ड जारी गरेको छ। यी मध्ये करिब ७० प्रतिशत सिमकार्ड सम्बन्धित प्रयोगकर्ताकै नाममा रहेको प्रधिकरणको अनुमान छ। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

सिम कार्ड

विशेष