स्वास्थ्य

डेंगुको बिगबिगी, छाडेन मन्त्रीलाई पनि 

डेंगुको बिगबिगी, छाडेन मन्त्रीलाई पनि 

काठमाडौँ । पछिल्लो दिनमा महामारीको रुप लिएको डेंगुले सर्वसाधारण मात्र होइन बहालवाला मन्त्रीलाई पनि आजित पारेको छ । ४० जिल्लामा फैलिसकेको डेंगुसँगै स्क्रब टाइफसका कारण चितवनमा ४ जनाले ज्यान गुमाईसकेका छन् । नेपालमा सन् २००४ देखि डेंगु रोगको संक्रमण देखिन थालेको हो । त्यसयता यो बढ्दै गएको छ । 

मन्त्रीलाई गरायो अस्पताल भर्ना

डेंगुले मन्त्रीलाई पनि अस्पताल भर्ना गराएको छ । संघीय सरकारका कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल डेंगु संक्रमण देखिएपछि अस्पताल भर्ना भएका हुन् । डेंगु संक्रमण देखिएपछि उनी ग्राण्डी अस्पताल भर्ना भएका छन् । मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

डेंगु संक्रमणको आशंकामा अस्पतालले उनलाई बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो । बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको हो । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । 

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे शहर तथा शहरोन्मुख क्षेत्रमा बढी पाइने चिकित्सकहरु बताउँछन् । यस जातको लामखुट्टेले स–साना सफा पानी जमेका स्थानमा फुल पार्दछ ।

खासगरी वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रा टायर, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गमला, कूलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्ने गर्दछ ।

डेंगु

विशेष