११ वर्षीया कमलाको प्रतिभाले युट्युब र सामाजिक सञ्जालमा तहल्का
काठमाडौं । धादिङकी कमला घिमिरे ११ वर्षमात्रै पुगिन् । निलकण्ठ नगरपालिका वडा नम्बर १२ की कमला कक्षा ६ मा पढ्छिन् । तर यिनको दोहोरी गायन क्षमता अद्भूत छ ।
उनको प्रतिभा देशदूनियाभर फैलिन एक महिना पनि लागेन् । धादिङमा रहेर पत्रकारिता र दोहोरीमा संलग्न अमित सापकोटाले पहिलो पटक कमलालाई मिडियामा ल्याउने काम गरे ।
सन्दर्भ थियो स्थानीय प्रगतिशील महिला समूहले आयोजना गरेको तीन विशेष सांगीतिक कार्यक्रम । सोही कार्यक्रममा निर्णायकको भूमिकामा पुगेका अमितसँग कमलाले दोहोरी गाउछु भनिन् ।
अमितले पनि उनीसँग दोहोरी गाए । भिडियो पनि खिचे । त्यो भिडियो उनले आफ्नो युट्यब च्यानलमा अपलोड गरे । जे हुनु थियो चमत्कार यसपछि नै भयो । अमितको युट्युब च्यानललाई जम्मा १८ जनाले सब्स्क्राइब गरेका थिए ।
भिडियो अपलोड भएको एक दुई दिनमा उनले आफ्नो च्यानल खोलेर हेर्दा मात्रै उनी दंगदास भए । किनभने त्यहाँ उनले अपलोड गरेको कमलाको भिडियो २० लाख भन्दा बढीले हेरिसकेका थिए । अर्थात धादिङको एक सानो विकासोन्मुख सहरकी बालिकाले रातारात चर्चा बटुलिसकेकी थिइन् ।
त्यसपछि कमलालाई पछ्याउँदै काठमाडौंदेखि युट्युबरहरु धादिङ पुगे । उनीसँग दोहोरी खेल्ने वातावरण बनाए । कमलाले गाएको दोहोरी धेरैले आ आफ्नो च्यानलमार्फत सार्वजनिक गरे । संयोग ती सबैलाई मानिसहरुले चासोपूर्वक हेरे ।
यतिबेला यी बालिकालाई लिएर उनका पिता कल्याण घिमिरे र पत्रकार अमित सापकोटा काठमाडौं आएका छन् । काठमाडौंमा दोहोरीको चर्चित स्टेज इन्द्रेणी, दोहोरीका अरु विभिन्न मञ्चहरु, टेलिभिजन अन्तर्वार्ता आदिमा कमला पुगेकी छिन् ।
कमलाको प्रतिभा भनेको उनी ठाउँको ठाउँ दोहोरी सिर्जना गर्न सक्छिन् । विपक्षीले जस्तो सवाल गर्छन्, त्यसको उस्तै जवाफ दोहोरीमार्फत नै उनी फर्काइदिन्छिन् ।
यति कम उमेरमा उनको कल्पनाशीलता, सिर्जनशीलताबाट प्रभावित नहुने कमै छन् ।