‘भद्रगोल’काे विषयमा मिडिया हबविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी
काठमाडौं । नेपाल टेलिभिजनको चर्चित हास्य धारावाहिक ‘भद्रगोल’का अर्जुन घिमिरे र उनको समूहले विज्ञापन एजेन्सी मिडिया हबविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिएको छ ।
मिडिया हबले अरुको सिर्जनाको दुरुपयोग गरेको भन्दै मुद्दा दर्ताको तयारी भइरहेको भद्रगोलका पूर्वनिर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । उनले भने, ‘हामीसँगको सम्झौता असार मसान्तमै सकिएको हो । अहिले नयाँ टिमले भद्रगोल निर्माण गरेर प्रशारण भएको रहेछ । जसमा अहिले पनि निर्देशक र लेखकमा अर्जुन घिमिरे÷कुमार कट्टेल भन्ने छ ।’
घिमिरेका अनुसार मिडिया हबले भद्रगोलको नयाँ भाग प्रशारण गरेपछि अधिकांश दर्शकले कमेन्टमा गाली वर्षाएका छन् । आफूहरुको नाम अनाधिकृत रुपमा भिडियोको ‘डिस्क्रिप्सन’मा राखिएको र दर्शकहरुले गाली पनि गरेकोले सो कार्य स्वतः गाली बेइज्जती उन्मुख भएको घिमिरेको दावी गरे । उनले भने, ‘हामीले अहिलेको भद्रगोल निर्देशन गरेका होइनौं । तर हाम्रो नाम राखेर बेइज्जत गरियो ।’
अर्जुनले भद्रगोलको आमुखमा प्रशारण हुने गीतको अधिकार पनि मिडिया हबसँग नरहेको, पुराना भागहरुको टुक्रा काटेर प्रयोग गर्ने अधिकार मिडिया हबले नलिएको, बक्यौता पनि अझै नपाएको जस्ता आरोप लगाएका छन् ।
गएको असारमसान्त अघिसम्म पुरानो समूहले ‘मिडिया हबका लागि’ भद्रगोल निर्माण गरेर बिक्री गर्दै आएको थियो । आफैले जुराएको नाममा समेत आफ्नो अधिकार नरहने देखेपछि घिमिरेको समूहले मिडियाहबसँग नयाँ सम्झौता गरेको थिएन ।
भद्रगोलको अहिलेको विवाद बारे मिडिया हबका सोम धितालले भने, ‘मुद्दाको कुरा उहाँहरको अधिकार हो यसमा म केही भन्न चाहन्न । शीर्ष गीतको पैसा मैले दिइसकेको छु । कागजी कुरा मिलाउन बाँकी रहेको हुन सक्छ । बक्यौता लगभग सबै एपिसोडको भुक्तान भइसकेको छ । युट्युबको केही बाँकी होला । धेरै छैन । डिस्क्रिप्सनमा नाम चाहिँ मेरा भाईहरु साथीहरु हुनुहुन्छ । दाईसँग अहिले मनमुटाव भयो भन्दैमा सधै हुँदैन । मेरो तर्फबाट ढोका खुल्ला छ भन्ने सन्देश दिन, मेरो माया उहाँप्रति अहिले पनि उत्तिकै छ भन्नको लागि राखेका हौं ।’
गएको शुक्रबार भद्रगोलको नयाँ भाग प्रशारण भएको छ । जसमा अधिकांश पुराना कलाकार छैनन् । युट्युब टेन्डिङको सात नम्बरमा रहेको सो भागमा अधिकांशले पुराना कलाकार नभएको भन्दै आलोचना गरेका छन् । भिडियोलाई लाइक भन्दा डिसलाइक गर्नेहरु बढी भएका छन् ।