हङकङमा ‘ट्रम्प आऊ, हङकङ बचाऊ’ को नारा
काठमाडौं । चीनको स्वायत्त क्षेत्र हङकङमा ‘ट्रम्प आऊ, हङकङ बचाऊ’को नारा लागेको छ । तीन महिनादेखि हङकङमा सरकारविरोधी आन्दोलन चर्किएको छ । हङकङको विवादास्दप सुपुर्दगी विधेयक फिर्ता लिने त्यहाँकी प्रमुख कार्यकारी क्यारी ल्यामले घोषणा गरे पनि आन्दोलन रोएिको छैन ।
प्रदर्शनकारीहरुले आइतबार हङकङस्थिति अमेरिकी दूतावासमा गएर एक ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउने जुलुशमा प्रदर्शनकारीहरुले अमेरिकाको झण्डा बोकेका थिए । उनीहरुले ‘राष्ट्रपति डोनल्ड ट्रम्प, हङकङलाई स्वतन्त्र बनाऊ’ लेखेको प्लेकार्डहरु बोकेका थिए ।
प्रदर्शनकारीहरुले अमेरिकी दूतावासमार्फत अमेरिकी संसदले हङकङ मानवअधिकार र लोकतन्त्र ऐन पारित गर्न आग्रह गर्दै यस्तो ज्ञापन पत्र बुझाएको उल्लेख गरेका छन् ।
आइतबारको प्रदर्शन हेर्दा चीनको स्वायत्त क्षेत्रमा हङकङबासीले खुला रुपमा अमेरिकालाई हस्तक्षेप गर्न निम्तो दिए जस्तो देख्न्थ्यिो ।
हङकङमा अपराध गरेका दोषीलाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रावधानसहितको विधेयक हङकङको संसदमा दर्ता भएपछि जनताहरु आन्दोलनमा उत्रिएका थिए ।
यो विधेयक खारेजको घोषणा गरिए पनि प्रदर्शनकारीहरु पूर्णरुपमा आश्वस्त हुन सकेका छैनन् ।
मुख्य भूमि चीनमा भन्दा हङकङमा नागरिक स्वतन्त्रता बढी छ । चीनमा झै स्वतन्त्रता हनन् हुने हो कि भन्ने चिन्ता प्रदर्शनकारीहरुमा देखिएको छ ।
सुपुर्दगी विधेयक खारेजी बाहेक प्रदर्शनकारीहरुले प्रदर्शनका बेला भएको ज्यादतिको स्वतन्त्र छानविन, प्रदर्शनकारीलाई आममाफी, दंगा शब्द फिर्ता, निर्वाचन अधिकारको माग राखेका छन् । पछिल्ला चार माग पूरा गर्न नसकिने हङकङ सरकारले स्पष्ट पारेको छ ।
प्रदर्शनकारीहरुले भने हङकङलाई स्वतन्त्र बनाउने चेतावनी दिएका छन् ।