उपनिर्वाचनका लागि २५ करोड बजेट निकासा, आयोगले मागेको रकमको दुईतिहाइ मात्रै स्वीकृत
काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मागेको रकमको दुईतिहाइ रकम मात्रै सरकारले निकासा दिएको छ । आयोगले ३९ करोड रुपैयाँ मागेको थियो । तर, सरकारले २५ करोड रुपैयाँ मात्र उपलब्ध गराएको हो ।
‘आयोगले ५१ पदका लागि एक सय ५४ वडामा हुने निर्वाचनका लागि खर्चको कार्यविधिसहित ३९ करोड बजेट माग गरेर अर्थ मन्त्रालयमा पत्र पठाएको थियो,’ निर्वाचन आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले भने, ‘सरकारले २५ करोड रुपैयाँ निकासा दिएको छ ।’
प्रवक्ता खरेलले आवश्यक परे पुनः निकासाका लागि पत्र पठाइने बताए । ‘हामीले माग गरेकोभन्दा कम रकम निकासा भयो,’ प्रवक्ता खरेलले भने, ‘प्राप्त रकमले काम गर्दै गर्छौँ । पुगेन भने फेरि निकासाका लागि पत्र पठाउँछौँ । एकैपटक निकासा भएको भए राम्रो हुन्थ्यो ।’ निकासा भएको रकमले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मतदान केन्द्र निक्र्योल गर्नेलगायतका प्राविधिक कार्य गर्न थालिएको पनि खरेलले जनाए ।
आयोगले एक सय ५४ वडामा हुने निर्वाचनका लागि अनुमानित ६ हजार आठ सय कर्मचारी खटाउन, पाँच सय ५० मतदान केन्द्र राख्न र ४६ निर्वाचन अधिकृतका कार्यालय स्थापना गर्न बजेटको माग गरेको थियो । त्यस्तै मतपत्र छपाई, मतपत्र ढुवानी, मतदाता नामावली प्रकाशनलगायतका खर्च उल्लेख गरेर बजेट मागेको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
निर्वाचन आयोग बजेट निकासा