खेल

एट्लेटिविरुद्ध बार्सिलोना स्तब्ध

एट्लेटिविरुद्ध बार्सिलोना स्तब्ध

काठमाडौंः बार्सिलोनालाई पारजित गर्दै एट्लेटिको म्याड्रिड स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एट्लेटिकोले बिहीबार राति खेलेको सेमिफाइनल म्याचमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोनालाई उसैको मैदानमा ३–२ गोलले हराउन सफल भयो । 

एट्लेटिकोले अब जनवरी १२ मा हुने फाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ । रियल म्याड्रिड भने सेमिफाइनलमा भ्यालेन्सियालाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो। प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा २४ वर्षीय अर्जेन्टिनी खेलाडी एन्जल कोरिएले आकर्षक गोल गर्दै एट्लेटिकोलाई फाइनलमा पुर्याएका हुन् । उनले निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि टोलीका लागि निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा ४६औं मिनेटमा कोकेले एट्लेटिकोका लागि पहिलो गोल गरेका थिए । ५१औं मिनेटमा स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीले जवाफी गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा फर्काएका थिए । त्यसलगत्तै ५९औं मिनेटमा मेसीले गरेको अर्को गोललाई भने भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले मान्यता दिएन । गोल गर्नुअघि नै फल भएको कारणले उक्त गोलले मान्यता नपाएको हो। खेलको ६२औं मिनेटमा एन्टोइन ग्रिजम्यानले बार्सिलोनाको अग्रतालाई २–१ बनाए ।

यसैगरी ७४औं मिनेटमा बार्सिलोनाका अनुभवी खेलाडी जेरार्ड पिकेले गरेको गोललाई पनि भीएआरले मान्यता दिएन । गोल गर्नुअघि नै अफसाइड भएकाले उक्त गोलले मान्यता नपाएको हो । ८१औं मिनेटमा एट्लेटिकोका अल्भारो मोराटाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए । 

बार्सिलोना स्पेनिस सुपर कप फुटबल एट्लेटि एट्लेटिविरुद्ध बार्सिलोना

विशेष