अन्तरवार्ता कभर स्टोरी भिडियो

गणतन्त्रवादी विदेशीका बुख्याचा हुन् ( भिडियोसहित) 

गणतन्त्रवादी विदेशीका बुख्याचा हुन् ( भिडियोसहित) 

अहिले मुलुकमा सबै राजनीतिक दल कमजोर अवस्थामा छन् । अझ प्रमुख दल सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेशी केन्द्रीत दलहरु आन्तरिक द्वन्द्वका कारण झन कमजोर देखिन्छन् । 

राजसंस्था र हिन्दु राष्ट्र फर्काउने अभियानमा लागेका पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखरजंग रायमाझीका अनुसार यी दलहरु कमजोर हुनुको कारण झूठ बोलेर हो । जनतासामु गरेका कबुल पूरा नगरी आफ्नो मात्र स्वार्थ हेर्न थालेपछि  यिनको नैतिक धरातल कमजोर भएको छ ।  

रायमाझी भन्छन्, ‘नेपालका गणतन्त्रवादी शक्ति विदेशीका बुख्याचा हुन् । यिनमा देश र जनताप्रति कुनै प्रेम छैन । सत्तासंग देशको सीमा, खोलानाला लगायतका श्रोत साट्नेहरुलाई अब जनताले चिनिसके । जनतासामु नाङ्गिने स्थिति सृजना भएपछि यिनीहरुभित्र आन्तरिक द्वन्द्व उत्पन्न भएको हो । अब यिनको आयु लामो छैन । ’

अहिले मुलुक जोगाउन राष्ट्रवादी शक्तिहरु संगठित भएर लागेका छन् । नेकपा, कांग्रेस, मधेश केन्द्रीत दल लगायत अन्य दलहरु भित्रका राष्ट्रवादी शक्तिलाई पनि समेटेर जाने प्रयास भैरहेको छ । फागुन पछि यी शक्तिहरु सडकमा आउनेछन् । शान्तिपूर्ण सडक आन्दोलनबाटै हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित हुनेछ । 

मुलुक भित्र डरलाग्दो गरी विदेशी हस्तक्षेप बढेको छ । यहाँका नेताहरु तिनै विदेशीका दलाल भए । आज संसदबाट पारित गर्न लागिएको एमसीसी अमेरिकी साम्राज्यवादको एउटा नमूना हो । यो पारित भए मुलुक रणभूमीमा परिणत हुनेछ । मुलुकलाई इराक र अफगानिस्तान बनाउन योजनाबद्धरुपमा विदेशी शक्ति लागेको छ । 

‘देशमा निर्वाचनबाट परिवर्तन सम्भव छैन । यो निर्वाचनबाट लुटेरा र भ्रष्ट मानिस मात्र चुनिएर आउने स्थिति भयो । अब देश परिवर्तन गर्ने भनेको आन्दोलनबाट हो । शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्रलाई परास्त गरी राजसंस्था र हिन्दु राष्ट्र स्थापना नभए मुलुक रहनेछैन ।’ रायमाझीको तर्क छ । 

नेकपा काँग्रेस राजसंस्था

विशेष