न्यु डायमण्ड खुला महिला भलिबलको उपाधि सशस्त्रको एपिएफलाई
काठमाडौँ । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।
साविक विजेता समेत रहेको एपीएफले लगातार दोस्रो संस्करणका उपाधि उचालेको हो । गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलको पहिलो सेट २५–२०, दोस्रो सेट २५–२३ ले जितेको एपीएफले तेस्रो तथा अन्तिम सेटमा २५–१८ को अंकमा न्यू डायमण्डलाई पराजित गरेको हो ।
उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।