स्वास्थ्य

रगत बिक्रीमा मनोमानी: अस्पतालैपिच्छे मूल्य फरक

रगत बिक्रीमा मनोमानी: अस्पतालैपिच्छे मूल्य फरक

काठमाडौँ। सरकारी तथा निजी अस्पतालले रगतको मनोमानी रकम असुल्दै आएका छन् । सरकारले रगतबापतको मूल्य नतोक्दा अस्पतालको मनोमानी बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मातहत रक्त सञ्चार सेवाका लागि अनुमति पाएका अस्पतालले बिरामीबाट मनलाग्दी रकम असुलेका हुन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले एक युनिट रगतको १ हजार २ सय रुपैयाँ लिएको कागजात राजधानी दैनिकले फेला पारेको छ । यस्तै, ललितपुरस्थित बीएन्डबी अस्पतालले ९ सय ५० रुपैयाँ प्रतियुनिट लिने गरेको पाइएको छ ।
यस्तै, हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले प्रतियुनिट १ हजार रुपैयाँ लिएको पाइएको छ । वीर अस्पतालले एक युनिट रगतबापत ५ सय ५० रुपैयाँ लिने गरेको पाइएको छ ।

यस्तै, ग्रिन सिटी गोंगबुले प्रतियुनिट १ हजार ९ सय रुपैयाँ लिएको पाइएको छ । तर, रक्त सञ्चार सेवाले रगतबापत प्रतियुनिट ४ सय ९५ रुपैयाँ लिँदै आएको छ । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ शुल्क लिने गरेको छ । पोकामा संकलन गरिएको रगतको एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफलिस, ब्लड ग्रुपिङ र आरएच टाइपिङ गर्नुपर्ने हुन्छ । यसका लागि पनि शुल्क लिएको पाइएको छ ।

१५ वर्षअघि प्रतियुनिट ४ सय ९५ रुपैयाँ निर्धारण भएको थियो । यस्तै, क्रस म्याच गर्दा थप १ सय ५० रुपैयाँ तोकिएको थियो । अस्पतालले रगतको मूल्य फरक फरक लिइरहँदा पनि सरकारले नियमन नगरेकाले बिरामी अस्पतालले भने जति मूल्य तिर्न विवश छन् । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रगतबापत रकम नलिएको बताउँछ । यो समाचार आजको राजधानी दैनिकमा प्रसान्त वलीले लेखेका छन।  

रगत रकम

विशेष