खेल

बिग बास लिगः दशौं म्याचका लागि पनि टिममा अटाए सन्दीप

बिग बास लिगः दशौं म्याचका लागि पनि टिममा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो दशौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आज १३ सदस्यीय टोली घोषणा गरेको हो । दशौं खेलका लागि मेलबर्नले घोषणा गरेको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् । मेलबर्नले आफ्नो दशौं म्याचमा पर्थ स्कोरचर्सको सामना गर्ने छ ।

यी दुई टिमबीचको खेल बुधबार दिउँसो ३ः५५ बजेदेखि सुरु हुनेछ । दशौं म्याचमा मेलबर्नले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले जोनाथन मेर्लोलाई विश्राम दिँदै नाथन कल्टर नाइललाई १३ सदस्यीय टिममा समावेश गरेको छ । 

पर्थविरुद्ध मेलबर्नले घोषणा गरेको मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कउटर–नाइल, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, हरिस रौफ, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल । 

मंगलबार एक खेल, ब्रिसबेन र एडिलेट भिड्दै

बीबीएलमा आज ब्रिसबेन हिट र एडिलेट स्टाइकर्स खेल्दै छन् । एडिलेट–ब्रिसबेनबीचको खेल मंगलबार बिहान १०ः२५ बजेदेखि सुरु हुँदैछ । जारी प्रतियोगितामा एडिलेटले ८ म्याच खेल्दा ४ मा जित र ३ खेलमा पराजय बेहोरेको छ ।

एक खेलमा वर्षा बाधक भएपछि राशिद खान सम्मिलित एडिलेटले अंक बाँडेको थियो । तालिकामा एडिलेट ९ अंककासाथ चौथो स्थानमा छ । यता क्रिस लिन नेतृत्वको ब्रिसबेनले ८ म्याचमा ४ मा जित र ४ खेलमै हार बेहोरेको छ । उसले ८ अंक जोडेको छ । र, ब्रिसबेन तालिकाको छैटौं स्थानमा छ ।

ब्रिसेबनमा क्रिस लिनसहित एबी डिभिलियर्स, मुजीउर रहमान, बेन कटिङ, जो बन्र्स, जेम्स प्याटिन्सनलगायत नाम चलेका खेलाडी छन् । यता एडिलेटमा एलेक्स क्यारी, ट्रभिस हेड, राशिद खान, पीटर सिड्डल लगायत चर्चित खेलाडी छन् । 
   
 

बिग बास लिग बीबीएल मेलबर्न स्टार्स सन्दीप लामिछाने

विशेष