बिग बास लिगः ब्रिसबेनविरुद्ध ११० रनमै समेटियो राशिदको टिम
काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत ब्रिसबेन हिटविरुद्ध एडिलेट स्टाइकर्स १ सय १० रनमै समेटिएको छ । टस जितेर ब्याटिङ रोजेको एडिलेटले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।
उसका लागि राशिद खानले २७ बलमा २ चौका र १ छक्का हिकाउँदै सर्बाधिक २८ रन बनाए ।एडिलेटका ५ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा ब्रिसबेनका जेम्स प्याटिन्सनले ४ ओभरमा ३३ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै बेन कटिङ, जोश लालोरले २–२ र मिचेल स्वीपसनले १ विकेट हासिल गरे ।
जारी प्रतियोगितामा एडिलेटले ८ म्याच खेल्दा ४ मा जित र ३ खेलमा पराजय बेहोरेको छ । एक खेलमा वर्षा बाधक भएपछि राशिद खान सम्मिलित एडिलेटले अंक बाँडेको थियो ।
तालिकामा एडिलेट ९ अंककासाथ चौथो स्थानमा छ । यता क्रिस लिन नेतृत्वको ब्रिसबेनले ८ म्याचमा ४ मा जित र ४ खेलमै हार बेहोरेको छ । उसले ८ अंक जोडेको छ । र, ब्रिसबेन तालिकाको छैटौं स्थानमा छ ।
ब्रिसेबनमा क्रिस लिनसहित एबी डिभिलियर्स, मुजीउर रहमान, बेन कटिङ, जो बन्र्स, जेम्स प्याटिन्सनलगायत नाम चलेका खेलाडी छन् । यता एडिलेटमा एलेक्स क्यारी, ट्रभिस हेड, राशिद खान, पीटर सिड्डल लगायत चर्चित खेलाडी छन् ।
तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स
अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ । मेलबर्नले आफ्नो दशौं म्याच बुधबार खेल्दै छ । उसले दशौं म्याचमा पर्थ स्कोरचर्सको सामना गर्नेछ । यो सिजनमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेलबर्नबाटै खेलिरहेका छन् ।
बिग बास लिग ब्रिसबेन हिटविरुद्ध एडिलेट स्टाइकर्स राशिद खान