खेल

बिग बास लिगः एडिलेटविरुद्ध डीभिलियर्सको टिमको शानदार जित

बिग बास लिगः एडिलेटविरुद्ध डीभिलियर्सको टिमको शानदार जित

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत एडिलेट स्टाइकर्सविरुद्ध ब्रिसबेन हिट ७ विकेटले विजयी भएको छ । एडिलेटले दिएको १ सय ११ रनको सामान्य लक्ष्य ब्रिसबेनले १५.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि म्याट रेन्शाले ४५ बलमा ५ चौका र १ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । यस्तै एबी डिभिलियर्सले ४०, म्याक्स ब्रायन्ट, जो बर्न्सले १०–१० रनको योगदान दिँदा कप्तान क्रिस लिन भने आज शून्य रनमै आउट भए । बलिङमा एडिलेटका राशिद खान, लायम कोनर र माइकल नेसरले एक–एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको एडिलेटले १९ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । उसका लागि राशिद खानले २७ बलमा २ चौका र १ छक्का हिकाउँदै सर्बाधिक २८ रन बनाए । एडिलेटका ५ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ब्रिसबेनका जेम्स प्याटिन्सनले ४ ओभरमा ३३ रन दिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै बेन कटिङ, जोश लालोरले २–२ र मिचेल स्वीपसनले १ विकेट हासिल गरे ।  

आजको जितसँगै ब्रिसबेनले ९ खेलमा १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । उसले ९ म्याच खेल्दा ५ मा जित र ४ खेलमा हारको सामना गरेको छ । ब्रिसबेनले आफ्नो दशौं म्याच १७ जनवरीमा ब्रिसबेन हिटकै सामना गर्ने छ । यता एडिलेट ९ खेलमा ९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा झरेको छ ।  
 

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले ९ म्याच खेल्दा ८ मा जित हासिल गर्दै १६ अंक जोडेको छ । मेलबर्नले आफ्नो दशौं म्याच बुधबार खेल्दै छ । उसले दशौं म्याचमा पर्थ स्कोरचर्सको सामना गर्नेछ । यो सिजनमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेलबर्नबाटै खेलिरहेका छन् ।

बिग बास लिग बीबीएल स्टाइकर्सविरुद्ध ब्रिसबेन हिट एबी डिभिलियर्स

विशेष