पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, फेरि देशभर वर्षा र हिमपातको सम्भावना
काठमाडौंः वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका सबैजसो भूभागको मौसम बदली भएको छ ।
यो प्रणलीले देशका धेरैजसो भूभागमा पानी पार्ने मौसमविद्ले जानकारी दिएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार साँझ देशको पश्चिमी क्षेत्रबाट न्यून चापीय प्रणाली प्रवेश गरेको हो । अब यो प्रणाली क्रमशः देशैभर फैलिँदै छ।
‘पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना छ,’ मानन्धरले भनिन्, ‘यो अवस्था शुक्रबारसम्म जारी रहन्छ।’
शनिबारदेखि भने मौसममा सुधार हुने उनले बताइन् । मानन्धरका अनुसार आज दिनभर काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा मजाले घाम लाग्ने सम्भावना छैन । काठमाडौँमा पनि आज वर्षाको सम्भावना धेरै छ । काठमाडौँमा अहिले मौसम बदली छ । आज बिहान ६ बजे काठमाडौँ उपत्यकामा न्युनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँको अधिकतम तापक्रम १६ देखि १८ डिग्री पुग्ने अनुमान छ।
वर्षा हिमपात मौसम बदली मौसमी प्रणाली न्यून चापीय प्रणाली