खेल

पुलिसद्वारा सुदूरपश्चिमलाई २३० रनको लक्ष्य, दीपेन्द्रको लगातार अर्धशतक

पुलिसद्वारा सुदूरपश्चिमलाई २३० रनको लक्ष्य, दीपेन्द्रको लगातार अर्धशतक

काठमाडौंः सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनायो । उसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनले ७६ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ६८ रन बनाए ।

जारी प्रतियोगितामा दीपेन्द्रको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै बलर ललितसिंह भण्डारीले ४० बलमा ४ छक्का र २ चौका हिर्काउँदै ४० रन बनाए । पुलिसका लागि अनिलकुमार शाहले ३१, योगन्द्र सिंह कार्कीले २९, कुशल भुर्तेलले १७ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा सुदूरपश्चिमका आकाश चन्द, शेर मल्ल, विनोद लामाले ३–३ र कप्तान सन्तोष भट्टे एक विकेट लिए ।  आजको विजेता टिम फाइनलमा नेपाल आर्मीको सामना गर्ने छ ।

आर्मी बुधबार भएको खेलमा प्रदेश ३ विरुद्ध ६४ रनले विजयी हुँदै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनल खेलमा पहिले ब्याटिङ गरेको आर्मी ४६.३ ओभरमा २ सय १६ रनमा अलआउट भएको थियो । 

आर्मीका लागि अनिल मण्डलले सबैभन्दा बढी ४३ रन जोडेका थिए । सो खेलमा कुशल मल्लले २६ बलमा ३७ रनको योगदान गरेका थिए । 

बलिङमा प्रदेश ३ का गौतम केसीले ४ विकेट लिएका थिए । ४७ ओभरमा २१७ रनको लक्ष्य पछ्याएको प्रदेश ३ ले ३८।१ ओभरमा अलआउट हुने क्रममा १५२ रन मात्र जोडेको थियो । प्रदेश ३ का लागि सोनु तामाङले ७४ रन जोडेका थिए ।

अन्य ब्याट्सम्यान सस्तैमा आउट हुँदा उनको इनिङ काम लागेन । बलिङमा आर्मीका सुसन भारीले ३ विकेट लिए भने साहब अलामले २ विकेट हात पारेका थिए । 

एकदिवसीय राष्ट्रिय क्रिकेट दीपेन्द्रसिंह ऐरी एमएम कप

विशेष