खेल

वेष्ट इन्डिजकी महिला अम्पायरले रचिन इतिहास

वेष्ट इन्डिजकी महिला अम्पायरले रचिन इतिहास

काठमाडौंः वेष्ट इन्डिजकी ज्याकलीन विलियम्स अन्तर्राष्ट्रिय पुरुष क्रिकेट म्याचमा ‘थर्ड अम्पायर’को भूमिका निर्वाह गर्ने पहिलो महिला बनेकी छन् । बुधबार राति भएको वेष्ट इन्डिज र आयरल्याण्डबीचको टी–२० म्याचमा ४३ वर्षीया विलियम्सले ‘थर्ड अम्पायर’को भूमिका निर्वा गरकी थिइन् । उनले वेष्ट इन्डिज र आयरल्याण्डबीचको तीन खेलको सिरिजमा तेस्रो अम्पायरको भूमिका निर्वाह गर्ने छिन् ।

‘थर्ड अम्पायर’को भूमिका निर्वाह गर्न पाएपछि विलियम्सले आइसीसीलाई धन्यवाद दिएकी छिन् । उनले भनेकी छन्, ‘मेरो लागि यो ठूलो सम्मान हो, यसका लागि म आइसीसीप्रति आभारी छु । म चाहन्छ आउँदो दिनमा धेरैभन्दा धेरै महिला अम्पायर अगाडि आउन् ।’ गएको महिनामा भारतकी जीएस लक्ष्मी विदेशमा पुरुषको क्रिकेटमा अम्पायरिङ गर्ने पहिलो रेफ्री बनेकी थिइन् । 

घरेलु मैदानमा आयरल्याण्डसँग वेष्ट इन्डिज पराजित 

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली आयरल्याण्डमाथि घरेलु मैदानमा वेष्ट इन्डिज ४ रनको झिनो अन्तरले पराजित भएको छ । बुधबार राति आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

उसका लागि इवन लुईसले ५३, कप्तान किरण पोलार्डले ३१, शिमरोन हेटमायरले २८, लेन्डल सिमन्सले २२, निकोलश पूरन, शेरफन रदरफोर्डले २६–२६ र डीजे ब्रावोले ९ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका जोस लिटलले सर्बाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।

उसका लागि पउल स्टर्लिङले शानदार ब्याटिङ गरे । उनले ४७ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९५ रन बनाए । पउलले आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्दै छन् ।

यस्तै वेष्ट इन्डिजविरुद्ध केभिन ओब्रायनले ४८, ग्यारेथ डेलानीले १९ र ग्यारी विल्सनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा वेस्ट इन्डिजका डीजे ब्रावो, सेल्डन कोट्रेल, खरी पिर्रेले २–२ विकेट लिए । वेष्ट इन्डिज र आयरल्याण्डबीचको दोस्रो खेल १९ जनवरीमा हुनेछ । 


 
 

वेष्ट इन्डिज पुरुष क्रिकेट ज्याकलीन विलियम्स थर्ड अम्पायर

विशेष