प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा, छानबिन समिति गठन
काठमाडौँ । प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्।
गायिका राउतले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै ‘दबङ’ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो हाल उनको फेसबुक प्रोफाइलमा नदेखिए पनि सामाजिक संञ्जजालमा भाइरल भएको छ । उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ।
‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो ?’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । यतिबेला राउतले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन ।
भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।
यता, प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियो आफूले नि हेरेको र छानविन प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैँन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘शब्दहरुको लागि क्षमा चाहन्छु ।’