खेल

बीबीएलः ११ औँ म्याच खेल्दै आज सन्दीपको मेलबर्न

बीबीएलः ११ औँ म्याच खेल्दै आज सन्दीपको मेलबर्न

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्सले आफ्नो ११ औँ म्याच खेल्दै छ । मेलबर्नले आफ्नो ११ औँ म्याच पर्थ स्कोर्चर्सविरुद्ध खेल्न लागेको हो ।

मेलबर्न र पर्थबीचको खेल बिहान १०ः२५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा पनि सन्दीप प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए । मेलबर्नले शुक्रबार घोषणा गरेको १३ सदस्यीय टोलीमा पनि सन्दीप अटाइसकेका छन् । 

 मेलबर्नले आज हुने म्याचमा निक म्याडिन्सन र जोनाथन मेर्लोलाई मौका दिएको छ । अघिल्लो म्याच खेलका हरिस रौफ र ज्याकसन कोलम्यान टिममा अटाएका छैनन् ।  

११ औँ म्याचका लागि मेलबर्नको टोलीः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कल्टर–नाइल, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, जोनाथन मेर्लो, लान्स मोरिस, मार्कस स्टोइनिस र डानियल वर्रल ।

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले १० म्याच खेल्दा ९ मा जित हासिल गर्दै १८ अंक जोडेको छ । यता मिचेल मार्श नेतृत्वको पर्थ तालिकाको चौथो स्थानमा छ । उसले १० म्याच खेल्दा ५ मा जित र पाँच् खेलमै हारको सामना गरेको छ । र, पर्थले १० अंक जोडेको छ ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने मेलबर्न स्टार्स

विशेष