खेल

बिग बास लिगः सन्दीपले पहिलो ओभरमै लिए विकेट

बिग बास लिगः सन्दीपले पहिलो ओभरमै लिए विकेट

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिन सफल भएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा विस्फोटक ब्याट्सम्यान लायम लिभिङस्टोनलाई १८ रनमा आउट गर्न सफल भए ।

उनले पहिलो ओभरमा १ विकेटसहित ६ रन दिएका छन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि ओपनर हिल्टन कार्टराइटले अर्धशतक बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४ रनको योगदान दिए । आज मेलबर्नका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा पर्थका म्याथ्यू केलीले ३, झाय रिचर्डसन र फवाद अहमदले एक–एक विकेट लिए ।

मेलबर्नको ११ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए ।

११ औँ म्याचका लागि मेलर्न स्टार्सको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याड्सन, ग्लेन म्याक्सवेल (कप्तान), सेब गोच, निक लार्किन, नाथन कल्टर–नाइल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चलिफ, डानियल वर्रल र लान्स मोरिस ।

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले १० म्याच खेल्दा ९ मा जित हासिल गर्दै १८ अंक जोडेको छ । यता मिचेल मार्श नेतृत्वको पर्थ तालिकाको चौथो स्थानमा छ । उसले १० म्याच खेल्दा ५ मा जित र पाँच् खेलमै हारको सामना गरेको छ । र, पर्थले १० अंक जोडेको छ ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने

विशेष