खेल

बिग बास लिगः पर्थविरुद्ध सन्दीपआवद्ध मेलबर्न विजयी

बिग बास लिगः पर्थविरुद्ध सन्दीपआवद्ध मेलबर्न विजयी

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा पनि मेलबर्न स्टार्स १० रनले विजयी भएको छ । मेलबर्नले दिएको १ सय ४१ रनको सामान्य लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । उसका लागि क्यामेरोन बानक्राफ्टले सर्बाधिक ३२ रन बनाए ।

बलिङमा मेलबर्नका निक म्याडिन्सनले ३, सन्दीप लामिछाने, ग्लेन म्याक्सवेल, क्लिन्ट हिन्चलिफ र डानियल वर्रलले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

उसका लागि ओपनर हिल्टन कार्टराइटले अर्धशतक बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४ रनको योगदान दिए । आज मेलबर्नका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा पर्थका म्याथ्यू केलीले ३, झाय रिचर्डसन र फवाद अहमदले एक–एक विकेट लिए ।

आजको जितसँगै मेलबर्न २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले ११ म्याच खेल्दा एक खेलमा मात्र पराजय बेहोरेको छ । यता पर्थले भने ११ म्याच खेल्दा ६ मा हारको सामना गरेको छ । १० अंकका साथ पर्थ तालिकाको चौथो स्थानमा छ । मेलबर्नले आफ्नो १२ औं म्याच सोमबार दिउँसो १ः२५ बजे सिड्नी सिक्सर्सविरुद्ध खेल्ने छ ।

कस्तो रह्यो आज सन्दीपको ४ ओभर?

पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा सन्दीपले आज ४ ओभरमा २९ रन दिएर १ विकेट लिएन सफल भए । उनले आफ्नो पहिलो ओभरमा विकेटसहित ६ रन दिएका थिए ।

सन्दीपले पहिलो विकेटका रुपमा आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिङस्टोनलाई १८ रनमा आउट गर्न सफल भए । उनले दोस्रो ओभरमा ९, तेस्रोमा ४ र अन्तिम ओभरमा १० रन खर्चिन पुगे ।

 

बिग बास लिग सन्दीप लामिछाने पर्थ स्कोरर्चर्स विरुद्ध मेलबर्न स्टार्स

विशेष