खेल

बीबीएलः सन्दीप सर्बाधिक विकेट लिनेको ‘टप–५’मा उक्लिने सम्भावना

बीबीएलः सन्दीप सर्बाधिक विकेट लिनेको ‘टप–५’मा उक्लिने सम्भावना

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को यो सिजनमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेलिरहेका छन् । उनले १० म्याच खेल्दा १२ विकेट लिइसकेका छन् । जारी बीबीएलमा सन्दीपको उत्कृष्ट बलिङ ३ विकेट लिएर २६ रन दिनु हो । यदि उनले आज २ विकेट लिए सर्बाधिक विकेट लिने सूचीको ‘टप–५’ मा उक्लिने छन् ।

सोमबार बिहानसम्म सन्दीप सर्बाधिक विकेट लिनेको सूचीमा दशौं स्थानमा छन् । यो सूचीको शीर्ष स्थानमा सिड्नी थन्डरका डानियल साम्स छन् । उनले ११ म्याच खेल्दा २० विकेट लिएका छन् । यस्तै दोस्रो स्थानमा मेलबर्न स्टार्सका हरिस रौफ, तेस्रोमा एडिलेट स्टाइकर्सका राशिद खान, चौथो स्थानमा सिड्नी सिक्सर्सका टम कुरान र पाँचौ स्थानमा पर्थ स्कोर्चर्सका झाय रिचडर्सन रहेका छन् ।

१२ औँ म्याच खेल्दै मेलबर्न स्टार्स

सन्दीप सम्मिलित मेलबर्न स्टार्सले आज आफ्नो १२ औँ म्याच खेल्दै छ । मेलबर्नले १२ औँ म्याच सिड्नी सिक्सर्सविरुद्ध खेल्न लागेको हो । सिड्नी र मेलबर्नबीचको खेल दिउँसो १ः२५ बजेदेखि सुरु हुने छ । ११ म्याच खेल्दा १० खेलमा प्लेइङ ११ मा मौका पाएका सन्दीपले आज पनि अवसर पाउने सम्भावना बलियो छ । जारी सिजनमा उनले १० म्याचमा १२ विकेट लिएका छन् । सिक्सर्स विरुद्धको खेलका लागि मेलबर्नले आइतबार घोषणा गरेको १३ सदस्यीय टोलीमासमेत सन्दीप अटाई सकेका छन् ।

जारी प्रतियोगितामा उनीआवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत सिजन उपविजेतासमेत रहेको मेलबर्नले ११ म्याच खेल्दा १० खेलमा जित हात पारेको छ । र, उसले तालिकामा २० अंक बटुलिसकेको छ । मेलबर्न तालिकाको शीर्ष स्थानमा रहँदा सिक्सर्स तेस्रो नम्बरमा छ । उसले ११ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ । र, सिक्सर्सले १३ अंक बनाएको छ ।

मेलबर्न यो सिजनमा पनि ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल र सिक्सर्समा मोइसेस हेनरिक्स कप्तान रहेका छन् ।सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन् ।

सिक्सर्सविरुद्ध खेल्ने मेलबर्नको टीमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, निक म्याडिन्सन, जोनाथन मेर्लो, लान्स मोरिस, मार्कस स्टोइनिस र डानियल वर्रल ।

मेलबर्नविरुद्ध खेल्ने सिक्सर्सको टीमः ओस्टिन अभेन्डानो ज्याक्सन बर्ड, टम कुरान, बेन द्वारशुइस, मिकी एडवर्ड्स, मोइज हेनरिक्स (कप्तान), ड्यान ह्युजेस, जेम्स विन्स, नाथन लायन, स्टीभ ओकिफ, जोस फिलिप, लोयड पोप र जोर्डन रेशम ।

सन्दीप लामिछाने बिग बास लिग बीबीएल

विशेष