भिडियो Breaking News कभर स्टोरी

ओली र नेम्वाङ हातमा दही जमाएर बस्दैनन् ( भिडियोसहित) 

ओली र नेम्वाङ हातमा दही जमाएर बस्दैनन् ( भिडियोसहित) 

प्रतिनिधिसभाको सभामुखमा नेकपा नेता अग्नि सापकोटा हुने लगभग निश्चित भएपनि उनीमाथिको ज्यान सम्बन्धी मुद्दाका कारण विवाद बढेको छ । कांग्रेससहित बिभिन्न राजनीतिक दल र अधिकारकर्मीहरुले यो विषयलाई प्रमुखताकासाथ उठाएका छन् । 

सापकोटा सभामुख बन्ने प्रक्रिया सुरुभएसंगै अदालतमा उनीविरुद्धको मुद्दाको पेशी तोकिनु संयोग मात्र नभएर षडयन्त्र भएको कतिपयले बताउन थालेका छन् । मुख्यतः प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओली र नेता सुवास नेम्वाङको रोजाइ सापकोटा नभएकाले दोस्रो महरा प्रकरण जन्मिन सक्ने आशंका गरिएको छ । 

नेपाली कांगेसका नेता विष्णु धिताल नेकपा अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ राजनीतिका चतुर खेलाडी र ग्राण्ड डिजाइनर भएकाले भोलिको दिनमा प्रचण्डको समूहलाई संकट पर्न सक्ने विश्लेषण गर्छन् । 

नेता धितालसंग भएको कुराकानीको महत्वपूर्ण अंश यस्ता छन् :

क ) सभामुख स्वच्छ छविको हुनपर्छ । नेकपाले अघि सारेका अग्नि सापकोटा ज्यान सम्बन्धी मुद्दामा फँसेका छन् । जघन्य अपराधमा मुछिएको व्यक्तिलाई सभामुख बनाउनु नेकपाको गलत निर्णय हो । यसले अपराधको राजनीतीकरण गरेको देखिन्छ । नेकपा अपराधीलाई उन्मुक्ति दिन्छ, दण्डहीनतालाई संरक्षण गरिरहेको छ भन्ने कुरा पुष्टि गर्छ । 

ख ) नेकपाले उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेको राजनीतिक हत्या गर्यो । हरेक दृष्टिकोणबाट सक्षम महिलालाई अपमानजनक ढंगले निकालेर नेकपाले महिलाप्रतिको आफनो अनुहारसमेत उदाङ्गो पारेको छ । नेकपाले उठाउने महिला सहभागिता र समावेशिताको कुरा आफना छोरी बुहारीलाई ‘एडजष्ट’ गर्न मात्र हो भन्ने पुष्टि भयो । 

ग ) कांग्रेसले सभामुखमा उम्मेदवार उठाएको भए राम्रो हुन्थ्यो । सापकोटा स्वच्छ छविका नभएकाले कांग्रेसले महरालाई गरे जस्तो समर्थन गरिहाल्नु हुँदैन । 

घ ) कांग्रेसले सापकोटाको विरोध गर्न पनि जरुरी छैन । सापकोटा कांग्रेसको नभइ नेकपाको उम्मेदवार भएकाले यसको नाफा घाटाको हिसाब उसैले बेहोर्न पर्छ । 

ङ ) नेकपामा प्रचण्ड बलशाली र ओली कमजोर देखिए । सापकोटा ओलीले रुचाएका पात्र होइनन् । ओलीले आफनो चाहनामा अनुसार काम गर्न नपाएपछि प्रतिशोध लिन सक्छन् । अदालतमा सापकोटाविरुद्ध तोकिएको पेशी यसैको ‘रियाक्सन’ हुनसक्छ । 

च ) प्रधानमन्त्री ओली कमजोर हुनुको कारण उनले प्रचार बढी गरे, काम गर्न सकेनन् । फलस्वरुप आफनै पार्टी भित्र उनी अल्पमतमा परेका छन् । 

छ ) प्रचण्डले टुँडीखेलमा ५ हजारको हत्या अभियोग स्वीकार गरेर हेग जाने आफनो बाटो आफै खोले । 

ज ) सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी आयोगमा कांग्रेसलाई भागवण्डा दिएर फकाउने प्रयास गरिँदैछ । कांग्रेसलाई मिलाउँदैमा अपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिनु हुँदैन । 

झ ) एमसीसीका शर्तहरु संशोधन गर्न  नेकपा र सरकारले अमेरिकासंग कुरा गर्नुपर्छ । 

ञ ) कांग्रेसमा देखिएको विवादलाई १४औं महाधिवेशन लागेको रुपमा बुझनु पर्छ । कांग्रेसमा बहुमतको निर्णय नमान्ने कुरा सुन्दा अनौठो लागेको छ । लोकतान्त्रिक पार्टीले बहुमत मान्दिन भन्नु हुँदैन । 

ट ) कांग्रेसमा छलाङ मार्न सक्ने युवा कोही छैन । सबै नेताहरुको दौराको फेर समातेर बसेका छन् । 

ठ ) सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मिलाउन केन्द्रीय सदस्य एन पी साउदले खेलेको भूमिका प्रशंसनिय छ । गुटलाई मलजल पुग्ने गरी कसैले काम गर्नु हुँदैन । 

विशेष