खेल

यी तीन भारतीय क्रिकेटर हुन्, जो शिखर धवनको स्थान लिन सक्छन्!

यी तीन भारतीय क्रिकेटर हुन्, जो शिखर धवनको स्थान लिन सक्छन्!

काठमाडौंः भातीय क्रिकेट टीम पछिल्लो समय खेलाडी चोटका कारण तनावमा छ । उसका महत्वपूर्ण खेलाडी शिखर धवन, भुवनेश्वर कुमार, ऋषभ पन्त,  इशान्त शर्मा, दीपक चाहर लगायत चोटका कारण आराम गरिरहेका छन् । धवन, पन्त न्यूजिल्याण्डसँगको सिरिजका लागि टिममा परिसकेका छन् । तर, दुवै टीम अहिले घाइते भएकाले न्यूजिल्याण्ड ‘टूर’मा जाने–नजाने निश्चित भइसकेको छ ।

पन्तको सम्भावना भए पनि शिखर भने चोटका कारण न्यूजिल्याण्ड ‘टूर’ गुमाउने भारतीय मिडियाले जनाएका छन् । शिखरले ‘टूर’ गुमाए उनको स्थानमा अर्का खेलाडीलाई भारतले टीममा समावेश गर्ने छ । शिखरको स्थान कसले लिन सक्लान् त? यो प्रश्नको जवाफमा प्रमुख तीन नाम आउँछन्–

१. सञ्जु स्यामसनः भारतले न्यूजिल्याण्ड ‘टूर’का लागि टीम घोषणा गर्दा सञ्जु अटाएका थिएनन् । तर शिखर अष्ट्रेलिया विरुद्धको वानडे म्याचमा घाइते भएपछि भने न्यूजिल्याण्ड भ्रमणमा सञ्जुको सम्भावना बलियो बनेको छ । उनी घरेलु प्रतियोगितामा शानदार प्रदर्शन गर्दै आएका छन् । विकेटकीपर–ब्याट्सम्यान सञ्जुले केही समयअघि विजय हजारे ट्रफी अन्तर्गत गोवाविरुद्ध अविजित २११ रन बनाएका थिए ।

उनले हालसम्म लिस्ट ‘ए’ क्रिकेटमा ८९ म्याचमा ३०.४६ को औसतमा २२ सय ८५ रन बनाएका छन् । साथै सञ्जुले ९३ आइपीएल म्याचमा २ हजार २ सय ९ रनसमेत बनाइसकेका छन् । उनीसँग आइपीएल खेलको राम्रो अनुभव छ ।

२. मयंक अग्रवालः मयंक केही समययता अन्तर्राष्ट्रियसँगै घरेलु प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेका छन् । उनले २०१९ मा टेष्ट क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका थिए । मयंकले वानडे विश्वकपका लागि भारतीय टीममा पनि मौका पाएका थिए । यद्यपि उनले एउटा म्याच पनि खेल्न पाएनन् ।

मयंकले ८१ लिस्ट ‘ए’ म्याचमा ५०.११ को औसतमा ३ हजार ९ सय ९ रन बनाएका छन् । साथै उनले १३६ टी–२० खेलमा २ हजार ९ सय ६९ रन बनाएका छन् । लगातार उत्कृष्ट लयका कारण मयंकलाई भारतले शिखरको स्थानमा न्यूजिल्याण्ड लैजान सक्छ ।

३. पृथ्वी शाः शिखरको स्थान लिनसक्ने अर्का सम्भावित खेलाडी हुन् युवा ब्याट्सम्यान पृथ्वी शा । सानै उमेरमा उनले भारतीय क्रिकेटमा गतिलो छाप बनाएका छन् । पृथ्वीले लिस्ट ‘ए’ करियरमा २७ म्याचमा ४४.२५ को औसतमा ११ सय ९५ रन जोडेका छन् । साथै उनले ३८ टी–२० म्याचमा ९ सय ७२ रन पनि बनाइसकेका छन् ।

पृथ्वीले भारतका लागि टेष्टसमेत खेलिसकेका छन् । उनले पहिलो टेष्टमै शतक बनाएका थिए । वेष्ट इन्डिजविरुद्ध टेष्टमा डेब्यू गरेका पृथ्वीले १ सय ३४ रन बनाएका थिए । जहाँ उनी ‘म्यान अफ द म्याच’समेत चुनिएका थिए । केही दिनअघि मात्रै पृथ्वीले न्यूजिल्याण्ड–११ को टीमविरुद्ध १ सय बलमा १५० रन बनाएका थिए । शानदार लयमा देखिएका उनी शिखरको स्थान लिनसक्ने बलिया विकल्प हुन सक्छन् ।

भारतीय टीम ५ टी–२०, ३ वानडे र २ खेलको टेष्ट सिरिजका लागि केही दिनमै न्यूजिल्याण्ड ‘टूर’मा जाँदैछ । न्यूजिल्याण्ड भ्रमणमा शिखर पनि समावेश हुने सम्भावना कम छ । उनी अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको अन्तिम खेलमा फिल्डिङका क्रममा घाइते भएका थिए ।

शिखर धवन भातीय क्रिकेट टीम भारतीय क्रिकेटर

विशेष