खेल

मैत्रीपूर्ण खेलः नेपालद्वारा मलेसियालाई २९१ रनको लक्ष्य

मैत्रीपूर्ण खेलः नेपालद्वारा मलेसियालाई २९१ रनको लक्ष्य

काठमाडौंः पोखरा रंगशालामा जारी दोस्रो एकदिवसीय मैत्रिपूर्ण क्रिकेट खेलमा नेपाल–११ ले मलेसिया–११ लाई २ सय ९१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५, रोहितकुमार पौडेलले ५३, सुवास खकुरेलले ४८, लोकेश बमले ३२, सुनिल धमालाले २४, विनोद भण्डारीले २१ र सुशन भारीले अविजित १६ रनको योगदान दिए ।

राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धा भए पनि अनौपचारिक खेल भएकाले नेपाल–११ र भ्रमणकारी टोली मलेसीया–११ को नाममा सिरिज खेलिरहेका हुन् । ३ म्याचको सिरिजमा नेपाल १–० ले अघि रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल १ सय ३५ रनले विजयी भएको थियो । दोस्रो खेलमा पनि नेपाल जितको श्रृखला जारी राख्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ । मलेसियालाई भने सिरिजमा रहिरहन आजको खेल जित्नैपर्ने दबाबमा छ ।

नेपाल ज्ञानेन्द्र मल्ल र मलेसिया अहमद फैजको नेतृत्वमा मैदान उत्रिएका छन् । सुनसरीमा सम्पन्न दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय म्याच खेल्न नेपाल आएको मलेसिया र नेपालबीच ३ म्याचको वन डे सिरिज भइरहेको हो ।

अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको तयारीमा रहेको नेपालले यो सिरिजलाई सोही प्रतियोगिताको अभ्यासका रुपमा हेरेको छ । नेपाल र मलेसियाबीचको तेस्रो एकदिवसीय खेल बिहीबार हुनेछ ।

मैत्रीपूर्ण खेल एकदिवसीय मैत्रिपूर्ण क्रिकेट  नेपालविरुद्ध मलेसिया

विशेष