खेल

भारतलाई चुनौती दिनसक्ने न्यूजिल्याण्डका ५ क्रिकेटर

भारतलाई चुनौती दिनसक्ने न्यूजिल्याण्डका ५ क्रिकेटर

काठमाडौंः अष्ट्रेलियालाई वानडे सिरिजमा २–१ ले हराएपछि भारतीय क्रिकेट टीम अब न्यूजिल्याण्डको सामना गर्दैछ । भारतको न्यूजिल्याण्ड ‘टूर’ २४ जनवरीदेखि सुरु हुनेछ । भारतले न्यूजिल्याण्डसँगको ‘टूर’ को सुरुवात पाँच खेलको टी–२० सिरिजबाट गर्नेछ । न्यूजिल्याण्डसँग भारतको प्रदर्शन प्रायः शानदार रहेको पाइँदैन । यसको पछिल्लाे उदाहरण हाे– २०१९ मा सम्पन्न वानडे विश्वकप ।

विश्वकपमा न्यूजिल्याण्डले दिएको मध्यम लक्ष्य पनि भारतले पूरा गर्न सकेको थिएन । र, भारतको फाइनल पुग्ने यात्रा रोकिएको थियो । न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा हराउन भारतलाई योपटक झन् बढी चुनौती हुनसक्छ । यी ५ न्यूजिल्याण्डका खेलाडीले भारतीय टीमलाई विशेष चुनौती दिन सक्छन्–

१. केन विलियम्सनः न्यूजिल्याण्ड टीमका कप्तान विलियम्सन लगातार रन बनाउँदै आएका छन् । सबै क्रिकेट प्रारुपमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने उनले घरेलु मैदानमा भारतीय टीमलाई तनाव दिन सक्छन् । अन्तर्राष्ट्रिय टी–२० मा विलियम्सनले ५७ म्याचमा १५ सय ५ रन बनाएका छन् । टी–२० मा उनले १२१ को ‘स्ट्राइक रेट’मा रन बनाँछन् । टी–२० क्रिकेटमा केनको उच्च स्कोर ७३ रन हो । 

२. मार्टिन गुप्टिलः गुप्टिल विश्व क्रिकेटका विस्फोटक ब्याट्सम्यान हुन् । छक्का–चौकाको वर्षा गर्न माहिर उनी भारतीय टीमका लागि मुख्य चुनौती हुन सक्छन् । ओपनर गुप्टिललाई ‘पावरप्ले’ मा आउट गर्न नसके बलर पिटिने सम्भावना बलियो हुन्छ । उनले अन्तर्राष्ट्रिय टी–२० मा २ शतक र १५ अर्धशतक बनाएका छन् । गुप्टिलले न्यूजिल्याण्डका लागि ८३ खेलमा २ हजार ४ सय ३६ रन बनाएका छन् । 

३. टिम साउथीः साउथी न्यूजिल्याण्ड टीमका अनुभवी बलर हुन् । उनी घरेलु मैदानमा बलिङ गर्दा विपक्ष टीमका लागि ‘घातक’ सावित हुन्छन् । विशेष रणनीतिका साथ भारतीय टीमका ओपनरले नखेलेमा साउथीको पन्जाबाट उम्किन मुस्किल हुनेछ । उनी बलिङका साथ ब्याटिङ पनि गर्न सक्छन् । साउथीले टी–२० मा ६६ म्याचमा २२० रन बनाएका छन् । टी–२० मा उनको उच्च स्कोर ३९ रन हो । न्यूजिल्याण्डका लागि बलिङमा साउथीले ६६ म्याचमा ७७ विकेट लिएका छन् । टी–२० मा उनको उत्कृष्ट बलिङ १८ रन दिएर ५ विकेट लिनु हो । 

४. कोलिन मुनरोः न्यूजिल्याण्ड टीमका ओपनर युवा ब्याट्सम्यान कोलिन टी–२० मा शानदार ब्याटिङ गर्ने गर्छन् । उनको नाममा टी–२० मा ३ शतक छ । मुनरोले न्यूजिल्याण्डका लागि ६६ टी–२० म्याचमा १५ सय ४६ रन बनाएका छन् । छक्का–चौका प्रहार गर्न माहिर उनलाई सस्तैमा आउट गर्न नसके भारतलाई जित निकाल्न गाह्रो हुनेछ । 

५. कोलिन डीग्राण्डहोमः न्यूजिल्याण्ड टीमका स्टार अलराउन्डर ग्राण्डहोम भारतीय टीमका लागि अर्का चुनौती हुन् । ब्याटिङमा चौका–छक्का माहिर गर्न सक्षम उनी बलिङ पनि गर्छन् । उनले बलिङमा न्यूजिल्याण्डका लागि ३३ बलमा १० विकेट लिएका छन् । यस्तै ग्राण्डहोमले ब्याटिङमा ३३ खेलमा ४ सय ४९ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० मा उनको नाममा २ अर्धशतक छ ।  
 


   


 

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्डविरुद्ध भारतीय क्रिकेट टीम

विशेष