अमेरिका सपना खरानी हुने देश ( भिडियोसहित)
धेरैजसो नेपालीको नजरमा अमेरिका सपनाको देश हो । अमेरिका जानु भनेको जीवन सफल हुनु हो । त्यहाँ गएपछि नाम र दाम हुन्छ । जीवन प्रतिष्ठित र सुरक्षित हुन्छ । अझ आजभोलि त युवा पिंढीले अमेरिका जाने लक्ष्य नै राखेका हुन्छन् । उनीहरु अमेरिका जानु भनेको जीवनको अन्तिम उद्देश्य प्राप्त भएको ठान्छन् ।
आफना छोराछोरी, ज्वाईं बुहारी अमेरिकामा छन् भन्ने सुनाउन पाउँदा ं मातापिता सासु ससुरा पनि गर्व महसुस गर्दछन् । गाउँ समाजमा पनि उनीहरुको छुट्टै धाक हुन्छ ।
तर, विगत एक वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका नेपाली संचारकर्मी एवम व्यावसायी दयाराम अगवालका नजरमा यो बुझाइ ठीक उल्टो छ । उनी भन्छन्, ‘ अमेरिका सोचे जस्तो छैन । केही अपवाद बाहेक अधिकांश नेपालीको अवस्था दयनीय छ । यतिसम्म कि नेपाल फर्किन खोज्यो भने पनि टिकटको लागि पैसा बचेको हुँदैन । ’
अग्रवालका अनुसार यदि अमेरिका जानु छ भने आफूसंग कुनै न कुनै ‘ट्यालेन्ट’ हुन जरुरी छ । ‘ट्यालेन्ट’ बिनाको मान्छेले त्यहाँ दुःख पाउँछ । नेपालीहरु जतिसुकै प्रतिभावान भएपनि अधिकांशले त्यहाँ काम गर्ने भनेको ग्यास स्टेशन, स्टोर डिपार्टमेन्ट र मोटेलमा हो ।
अमेरिकामा रहेका अधिकांश नेपालीहरुले आफू के मा काम गर्छु भन्ने कुरा लुकाउँछन् । नेपालमा प्रतिष्ठित जीवन बिताएकाहरु समेत अमेरिकामा काम गर्ने भनेको त्यही ग्यास स्टेशन, डिपार्टमेन्ट स्टोर र मोटेलमै हो । उनीहरु आफनो कामबारे भन्न लाज मान्छन् ।
कहिलेकाहिं छुट्टीको समयमा समुद्री किनार वा केही जमघटमा खिचेको फोटो सामाजिक संजालमा राखेर उनीहरु आफूलाई खुशी देखाउने प्रयास गर्छन् । फोटो हेरेर नेपालमा रहेकाहरुलाई ठूलो भ्रम पर्छ । वास्तावमा उनीहरु भित्रभित्र निकै पीडित हुन्छन् । न सोचे जस्तो आम्दानी भैरहेको हुन्छ न त त्यस अनुसारको सामाजिक जीवन नै त्यहाँ छ ।
आम्दानीका हिसाबमा स्टेट अनुसार फरक–फरक ज्याला छ । तर, औसतमा प्रति घण्टा ८ देखि १० डलरसम्म नेपालीहरुले कमाउने गरेका छन् । हप्तामा बढीमा ४० घण्टा काम गर्ने हो । जति कमाइ हुन्छ, त्यो सबै खर्चमै सकिन्छ । कम्तिमा पनि १५०० देखि २००० हजार डलर मासिक खर्च गर्नुपर्ने स्थिति छ । सबैभन्दा धेरै खर्च कोठा भाडाको हो । कतिपय नेपालीहरु त एउटा कोठमामा तीन–जनासम्म मिलेर बसेका छन् ।
अमेरिकाको जीवन नेपालको जस्तो सामाजिक छैन । त्यहाँ मानिस पूर्णरुपमा यान्त्रिक जस्तै हो । एक किसिमले भन्ने हो भने अमेरिकामा मानिसको ‘इमोसन’ भन्ने कुरा छैन र त्यो हुँदैन पनि ।
मानिस यतिसम्म व्यस्त छ कि श्रीमान श्रीमतिको पनि भेट हुँदैन । श्रीमान श्रीमतिको भेट नहुँदा पर पुरुष वा पर स्थ्रीसंग सम्बन्ध जोडिनेक्रम सामान्य भैसक्यो । अमेरिका फ्रि सेक्समा गैसक्यो भन्दा हुन्छ, तर ती कुरा सहमतिमा हुनुपर्छ ।
अमेरिका एउटा ‘सुनको पिंजडा’ हो । बाहिरबाट हेर्दा बडो राम्रो र आकर्षक तथा मुल्यवान देखिन्छ, तर पिंजडा भित्र कोही थुनियो भने उसका लागि त्यो बैभवको अर्थ छैन । अधिकांश नेपालीहरु त्यही ‘सुनको पिंजडा’ मा थुनिएका छन् । बस्न त सुनको घर भित्र छ, तर जीवन निस्सासिएको छ ।
केही नेपालीहरुले आफूले कमाएको केही अंश नेपालमा पठाएका छन्, तर कतिपय नेपालीहरुसंग घर फर्किने पैसासमेत बचेको हुँदैन । अमेरिकाको संयन्त्र नै यस्तो छ कि कमाएको जति सबै त्यहीं खर्च भैसक्छ ।
‘धेरैजसो नेपालीहरुले अमेरिकालाई सपनाको देश बनाएका छन् । यो विल्कुल गलत हो । यो भ्रम मात्र हो । अमेरिकाको भन्दा नेपालमा जीवन धेरै सहज छ । म तमामौ युवाहरुलाई अमेरिकामा होइन, नेपालमै आफना सपना पूरा गर्न आग्रह गर्दछु । अमेरिका सपना पूरा हुने होइन बरु खरानी हुनसक्छ ।’ अग्रवाल बताउँछन् ।