खेल

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा, को–कोले पाए मौका?

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको घोषणा, को–कोले पाए मौका?

काठमाडौंः आइसीसी विश्व क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । दुई नयाँ अनुहारलाई समेट्दै नेपाली टोलीको घोषणा भएको हो । टीममा अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मी पनि अटाएका छैनन् । सोमपाल अस्वस्थ र बसन्त पारिवारीक कारणले टीममा नअटाएका हुन् । उनीहरुको स्थानमा पहिलोपटक कुशल मल्ल र कमलसिंह ऐरीले मौका पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा ज्ञानेन्द्र मल्लको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यस्तै टीममा सुशन भारीले पनि पहिलो पटक एकदिवसिय टिममा स्थान बनाएका छन् । पछिल्लो पटक टी–२० टिममा रहे पनि उनी पहिलोपटक एकदिवसिय सिरीजका लागि टिममा परेका हुन् ।

त्रिकोणात्मक सिरिज खेल्ने पाली टीमः ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी ।

माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । यो प्रतियोगिताका लागि अमेरिका र ओमानले यसअघि नै टिमको घोषणा गरिसकेको छ । 

नेपाली क्रिकेट टिम नेपाल क्रिकेट संघ आइसीसी विश्व क्रिकेट लिग–२

विशेष