खेल

बिग बास लिगः सिड्नीविरुद्ध सन्दीपआवद्ध मेलबर्नको उत्कृष्ट सुरुवात

बिग बास लिगः सिड्नीविरुद्ध सन्दीपआवद्ध मेलबर्नको उत्कृष्ट सुरुवात

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डर विरुद्धको खेलमा पनि सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले उत्कृष्ट सुरुवात गरेको छ । टस हारेर फिल्डिङको मौका पाएको मेलबर्नले पहिलो ओभरमै विकेट लिन सफल भएको छ । मेलबर्नले पहिलो विकेट पहिलो ओभरको तेस्रो बलमा लिएको हो ।

सिड्नीले  पहिलो विकेटका रुपमा विस्फोटक ब्याट्सम्यान एलेक्स हेल्सलाई शून्य रनमा गुमाएको हो । उनलाई मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आउट गरे । यस्तै सिड्नीले दोस्रो विकेटका रुपमा २.१ ओभरमा अर्का ओपनर उश्मान ख्वाजालाई १ रनमा गुमाएको छ । उनलाई पनि कप्तान म्याक्सवेलले ‘बोल्ड आउट’ गर्न सफल भए । यो समाचार तयार पार्दासम्म सिड्नीले ३ ओभरमा महत्वपूर्ण २ विकेट गुमाएर १५ रन बनाएको छ ।  

सुरुवातका ४ खेलमा मौका पाएका सन्दीपले पाँचौ म्याच भने गुमाएका छन् ।  चोटका कारण सन्दीपले सिड्नी विरुद्धको म्याच गुमाएका हुन् । उनको स्थानमा टोलीमा पाकिस्तानी तिव्र गतिका बलर हरिश रौफलाई मौका दिइएको छ ।

जारी सिजिनमा सन्दीपआवद्ध मेलबर्नले ४ म्याच खेल्दा एकमा हार र ३ खेलमा जित हासिल गरेको छ । सन्दीपले ४ म्याच खेल्दा ३ विकेट लिएका छन् ।

उनले पहिलो खेलमा ४, दोस्रो, तेस्रोमा ३ र चौथो खेलमा २ ओभर बलिङ गर्ने मौका पाएका थिए । पहिलो खेलमा महँगा सावित भएका सन्दीप त्यसपछिका खेलमा भने लय समात्न सफल भएका थिए ।

सिड्नीविरुद्ध मेलबर्नको प्लेइङ–११ः मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, निक लार्किन, ग्लेन म्याक्सवेल (कप्तान), बेन डन्क, निक म्याडिन्सन, नाथन कल्टर–नाइल, क्लिन्ट हिन्चलिफ, हरिश रौफ, डेल स्टेन र एडम जम्पा ।

बिग बास लिग सन्दीप लामिछाने सिड्नी थन्डरविरुद्ध मेलबर्न स्टार्स

विशेष