भिडियो Breaking News कभर स्टोरी

‘डेमोक्रेसी’ भनेको ओलीको ‘अरिंगाल’ होइन ( भिडियोसहित) 

‘डेमोक्रेसी’ भनेको ओलीको ‘अरिंगाल’ होइन ( भिडियोसहित) 

वरिष्ठ अधिवक्ता एवम विश्लेषक दिनेश त्रिपाठी नेकपा नेता अग्नि सापकोटा सभामुख हुने बाटोमा तगारो भएका छन् । सापकोटाविरुद्ध ज्यान सम्बन्धी गम्भीर प्रकृतिको मुद्दा भएकाले उनलाई कुनैपनि हालतमा सभामुख बनाउन हुँदैन भन्ने मुख्य मागसहित उनले सर्वोच्चमा रिट हालेपछि आइतबार अदालतले सापकोटालाई उपस्थित हुन आदेश दिएको छ । 

आइतबार नै सभामुख चयन सम्बन्धी प्रक्रिया सुरु हुने भएकाले सापकोटाका विषयमा अदालतले के फैसला गर्छ भन्ने चासो पनि बढेको छ । अदालतले जे फैसला गरेपनि जघन्य अपराधविरुद्धको लडाईंलाई आफूले नछाड्ने त्रिपाठी बताउँछन् । 

त्रिपाठी भन्छन्, ‘ यस्ता घटनामा अदालतमा बाहेक विश्वास गर्ने ठाउँ अरु छैन । अझै पनि मलाई न्यायालयमाथि विश्वास छ । राजनीतिक नेतृत्व अपराधिक साँठगाँठमा लागेकाले त्यहाँबाट यसको निरुपण हुँदैन । अदालतले उचित फैसला गर्नेछ । ’

सापकोटाको मुद्दा सम्पूर्णरुपमा आपराधिक हो । यो २०६४ सालमा काभ्रे प्रहरी प्रशासनमा दर्ता भएको हो । सुरुमा प्रहरीले दर्ता नै गर्न मानेन । पछि सर्वोच्च अदालतको आदेशपछि दर्ता भयो । सर्वोच्चले पटक–पटक घटनाको अनुसन्धान गरी आफूलाई जानकारी गराउन पनि आदेश दियो । तर, राजनीतिक शक्तिको दुरुपयोग गरी यो घटनालाई सामसुम पार्न खोजियो । 

अहिले पुनः व्युँतिएको छ । सापकोटा मन्त्री हुँदा पनि बिचबिचमा उठेको थियो । तर, अब भने रोकिदैन । एउटा सम्मानित पदमा अपराधमा मुछिएको व्यक्तिलाई पठाउन सकिदैन । यो संविधान र मानवअधिकारको घोर उल्लंघन हो । पीडितमाथि नून चुक छर्कने काम हो । 

कतिपयले यस्लाई द्वन्द्वकालिन घटना भनेर सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत हल गर्नुपर्ने तर्क गरेका छन् । यो विल्कुल गलत हो । अदालत प्रवेश भैसकेका र गम्भीर प्रकृतिका घटनामा आयोगले मेलमिलाप गराउन सक्दैन । आयोगले सजाय दिने पनि होइन । यस्ता मुद्दामा अदालतबाटै दण्ड सजाय हुनुपर्छ । 

वास्तवमा अहिलेको राजनीतिलाई दुषित बनाउने काम माओवादीले गरेको हो । एमाले प्रजातान्त्रिक प्रणालीमा गैरहेकाबेला माओवादीसंगको एकीकरणले दुषित हुन पुग्यो । अहिले पूर्व एमालेहरु पूर्व माओवादीले जे भन्यो त्यही मान्नुपर्ने अवस्थामा छन् । दुई पार्टी मिलेर बनेको नेकपा नै अपराधलाई संरक्षण गर्ने मुख्य भूमिकामा छ । एक किसिमले भन्ने हो भने राज्यसत्ता पीडकहरुको कब्जामा छ । 

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई म नै ‘स्टेट’ हुँ भन्ने भ्रम छ । उनीहरुको सोचका कारण मुुलुकमा विधिको शासन स्थापित हुन सकेको छैन । संविधान दिनप्रतिदिन उल्लंघन हुँदै गैरहेको छ । प्रचण्डले ५ हजार मान्छे मारेको जिम्मेवारी लिन्छु भन्दा पनि प्रहरी प्रशासन निरीह बस्छ । यो भन्दा ठूलो मजाक अर्को के हुन्छ ? 

त्रिपाठी भन्छन्, ‘अग्नि सापकोटाविरुद्ध मुद्दा दर्ता गरेपछि बिभिन्न तवरले धम्की आइरहेका छन् । सामाजिक संजालमार्फत र फोन गरेर धम्काउने काम भैरहेको छ । राज्यसत्ताले नियोजितरुपमा मान्छे परिचालन गरेर धम्काइरहेको महसुस गरेको छु । तर, म डराएको छैन । यस्ता परिस्थितिबाट गुज्रिदै आएकाले मलाई अरिंगालले क्षति पुर्याउन सक्छन् जस्तो लाग्दैन । ’

 

विशेष