खेल

टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको दोस्रो खेल आज

टी–२० सिरिजः भारत र न्यूजिल्याण्डबीचको दोस्रो खेल आज

काठमाडौंः भारत र न्यूजिल्याण्डबीचको टी–२० क्रिकेट सिरिजको दोस्रो म्याच आज हुँदैछ । यी दुई टीमबीचको दोस्रो खेल आज दिउँसो १२ः३५ बजेदेखि सुरु हुनेछ । अघिल्लो खेलमा चौका–छक्काकाे वर्षा भएको थियो । आज पनि चौका–छक्काको आनन्द लिन पाइने सम्भावना छ । किनकी आइतबार पनि अघिल्लो खेल भएकै मैदानमा  दुवै टीम भिड्दै छन् ।

सिरिजको पहिलो खेलमा न्यूजिल्याण्ड र भारतीय खेलाडीले २० छक्का र ३० चौका प्रहार गरेका थिए । पाँच खेलको सिरिजमा भारतले १–० ले अग्रता बनाएकाे छ । सिरिज बराबरी बनाउन घरेलु टोली न्यूजिल्याण्ड आज विशेष रणनीतिका साथ मैदान प्रवेश गर्ने छ । यता भारत पनि सिरिजमा आफूलाई अग्रता कायम गर्नका लागि पूरा तयारीका साथ मैदान छिर्ने छ ।

अघिल्लो खेलमा न्यूजिल्याण्डका ओपनरद्वय मार्टिन गुप्टिल र कोलिन मुनरोले शानदार सुरुवात दिलाएका थिए । भारतका रोहित शर्मा र केएल राहूलबीच भने पहिलो विकेटका लागि ठूलो साझेदारी हुन सकेन । तर, उसका युवा ब्याट्सम्यान श्रेयस अय्यर चम्किँदा भारतले सजिल्यै खेल जितेको थियो । भारत र न्यूजिल्याण्डले आज प्लेइङ ११ मा केही परिवर्तन गर्न सक्छन् । अघिल्लो खेलमा प्रायः बलरहरु महँगा सावित भएका थिए ।   

भारतको सम्भावित प्लेइङ ११ः  रोहित शर्मा, केएल राहूल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, युजवेन्द्र चहल,  मोहम्मद शमी, नवदीप सैनी र जसप्रीत बुमराह । 

न्यूजिल्याण्डको सम्भावित प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्राण्डहोम, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टन, ईश सोधी, टिम साउथी, ब्लेयर टिकनर र स्कट कुग्लेजिन ।

 

 

टी–२० क्रिकेट सिरिज न्यूजिल्याण्डविरुद्ध भारत

विशेष