खेल

पन्जाबले पहिलोपटक आइपीएलकाे उपाधि जित्नसक्ने ३ कारण

पन्जाबले पहिलोपटक आइपीएलकाे उपाधि जित्नसक्ने ३ कारण

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) विश्वचर्चित क्रिकेट लिग हो । केही महिनाभित्र आइपीएलको १३ औँ संस्करण सुरु हुँदैछ । आइपीएलमा हालसम्म तीन टीमले उपाधि जित्न सकेका छैनन् । रोयल च्यालेन्जर्स बैंग्लोर, किंग्स इलावेन पन्जाब र दिल्ली क्यापिल्स उपाधि विहिन छन् । यसैबीच आज एकपटक फाइनलमा पुगेर उपाधि जित्न असफल भएको पन्जाबका बारेमा चर्चा गर्दैछौं । हालै कोलकातामा भएको ‘अक्सन’बाट शानदार प्रदर्शन गरिरहेका खेलाडीलाई भित्र्याएको पन्जाबले आसन्न आइपीएल जित्नसक्ने मुख्य तीन कारण खोतल्दै छौंः  
 
३. लगातार केएल राहूलको शानदार प्रदर्शनः गत सिजनमा पनि केएल राहूलले शानदार ब्याटिङ गरेका थिए । उनी आइपीएलमा आफ्नो टीमका लागि ब्याटिङका साथ विकेटकीपिङ पनि गर्छन् । आइपीएल २०२० मा उनले कप्तानीको जिम्मेवारी पनि पाएका छन् । रवीचन्द्रन आश्विन दिल्ली क्यापिटल्स गएपछि राहूलले टीमको नेतृत्व गर्ने जिम्मा पाएका हुन् । पछिल्लो समय उत्कृष्ट लयमा देखिएका राहूल आइपीएलमा पनि यही लयलाई दोहोर्‍याएमा उनी आफ्नो टीमलाई उपाधि दिलाउन सक्ने छन् । 

२. सन्तुलित टीमः सन् २०१४ मा पन्जाब आइपीएलको फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन् । योपटकको आइपीएल संस्करण जित्ने पन्जाबले पक्कै योजना बनाएको छ । योजना सफल बनाउन सन्तुलित टीमको आवश्यकता पर्छ । यस्तो सन्तुलित टीम पन्जाबसँग छ । उसँग क्रिस गेल, ग्लेन म्याक्सवेल, निकोलश पूरन, जिमी नीशम, शेल्डन कोट्रेल लगायत विदेशी स्टार खेलाडी छन् । यीसँगै उत्कृष्ट प्रदर्शन गर्दै आएका मोहम्मद शामी, मयंक अग्रवाल, करुण नायर लगायत खेलाडी पनि पन्जाबसँग छन् । अनुवभी र युवा खेलाडी मिश्रित टीम भएकाले पन्जाबले उपाधि जित्नसक्छ ।  

१. टीम व्यवस्थापनमा परिवर्तनः आसन्न आइपीएलका लागि पन्जावले टीममा केही परिवर्तन गरेको छ । उसले टीमको मुख्य प्रशिक्षकमा पूर्व भारतीय स्टार क्रिकेटर अनिल कुम्बलेलाई नियुक्त गरेको छ । पन्जाबले ब्याटिङ कोचमा वसीम जाफर फिल्डिङ कोचमा जोन्टी रोड्स र बलिङ प्रशिक्षकमा कर्टनी वाल्सलाई टीममा भित्र्याएको छ । प्रशिक्षकसँगै पन्जाबले टीमकाे कप्तान पनि परिवर्तन गरेको छ । आइपीएल २०२० मा पन्जाबको कप्तानी केएल राहूलले सम्हाल्ने छन् ।  

इन्डियन प्रिमियर लिग आइपीएल किंग्स इलावेन पन्जाब

विशेष