Technology

ल्यापटपको ख्याल कसरी राख्ने ?

ल्यापटपको ख्याल कसरी राख्ने ?

काठमाडौं। वर्तमान अवस्थामा कुनै पनि कामकाजी व्यक्तिको अभिन्न अंगका रूपमा ल्यापटप भइसकेको छ । ल्यापटप बोक्नु विद्यार्थीदेखि कार्यालयमा काम गर्ने व्यक्तिका लागि आवश्यकताजस्तै भइसकेको छ । झोलामा ल्यापटप बोक्नु अहिलेको आवश्यकता नै भइसकेको छ । उतिउपयोगी र महŒवपूर्ण साधनको रूपमा परिचित छ । महँगो हुनुका साथै हाम्रा महत्वपुर्ण डाटा यसैमा हुने भएकाले यसको सुरक्षा र हेरचाह अत्यावश्यक हुन्छ ।

घर होस्, अफिस होस् वा यात्रा, यसको हेरचाह गरिएन भने चाँडै बिग्रन सक्छ, जसले गर्दा महत्वपूर्ण डकुमेन्ट क्षति हुने जोखिम बढ्छ । ल्यापटपको राम्रो हेरचाहले यसको आयुसमेत लम्ब्याउन पनि सक्छ । त्यसैले, ल्यापटपको हेरचाहका लागि यहाँ केही सहज उपाय प्रस्तुत गरिएका छन् । यी उपाय अपनाउँदा ल्यापटपको कार्य क्षमता तथा गतिमा समेत सुधार आउँछ ।

प्याडेड कभर

ल्यापटपलाई सुरक्षित राख्न सुरक्षित खोलमा राख्नुपर्छ । के नै होला र ? भनेर हेरचाह नगर्दा भवितव्य पर्दा समस्या हुन सक्छ ।

चोरी हुन नदिने

ल्यापटप चोरी हुने ग्याजेटमा पर्दछ । त्यसैले, ल्यापटप बोकेर हिँड्दा होस् वा कुनै ठाउँमा राखेर छाड्दा, निकै होस पु¥याउनुपर्छ । कुनै झोलामा राखेर वा बाहिरै लापरबाही ढंगले ल्यापटप छाड्नुहुँदैन ।

तरलपदार्थबाट जोगाउने

ल्यापटप चलाउँदै चिया, कफीलगायत पेयपदार्थमा रमाउने अधिकांशको बानी हुन्छ । तर, यस्ता तरल पदार्थ ल्यापटपमा पोखियो भने उपकरणमा नराम्रो असर पर्छ । त्यसैले, सकेसम्म ल्यापटपको नजिक बसेर चिया, कफी आदि नपिउनुहोस् । यदि, यस्ता पेयपदार्थ पिउँदै चलाउनुपरेमा कभरसहितका कप वा ग्लासको प्रयोग गर्नु राम्रो हुन्छ ।
तरलपदार्थ पोखिएमा ल्यापटपमा रहेका माइक्रोइलेक्ट्रानिक कम्पोनेन्ट (सूक्ष्म विद्युतीय सामग्री)मा खराबी आउन सक्छ । साथै, सर्ट सर्किट हुँदा यसमा सञ्चित गरिएका डाटालगायत हराउने सम्भावनासमेत रहन्छ । त्यसकारण यसप्रति बढी सचेत हुनुपर्छ ।

एन्टिभाइरसको प्रयोग

इन्टरनेटबाट विभिन्न सामग्री डाउनलोड गर्दा चनाखो भए तापनि तीसँगै भाइरससमेत भित्रिने खतरा रहन्छ । तर, अधिकांश मानिस आफ्ना ल्यापटपमा एन्टिभाइरसको प्रयोग गर्न चाहँदैनन् । यसो गर्दा सर्किट एरर वा प्रणालीमै सफ्टवेयर समस्या आउने सम्भावना रहन्छ । उपकरणमा भाइरस पसेमा यसले समग्र प्रणालीको कार्य क्षमतामै ह्रास ल्याउन सक्छ ।

खाना तथा पाल्तु जीवबाट टाढा राख्ने

ल्यापटपलाई सकेसम्म खाना तथा घरपालुवा जनावरबाट टाढै राख्नु राम्रो हुन्छ । ल्यापटप नजिक खाना खाँदा खानाका टुक्रा यसमा पसेर समयान्तरमा उपकरणमै खराबी आउन सक्छ । साथै, घरपालुवा जनावरका भुत्ला मात्रै पसे पनि उपकरणमा असर पर्न सक्छ । जनावर ठूला भएमा उपकरणमा ठेस लाग्ने, तारसँग अल्झिनेलगायत सम्भावना हुन्छ । यसले उपकरण राखिएको स्थानबाट खस्नेलगायत खतरासमेत रहन्छ । यस्तो भएमा उपकरणमा क्षति पुग्न सक्छ । ल्यापटपको प्रयोग गरिने कोठा सकेसम्म सफा तथा धूलोरहित बनाउने प्रयास गर्नुपर्छ ।

डिस्प्लेको सुरक्षा

ल्यापटप बन्द गर्दा स्क्रिन र किप्याडका बीचमा केही पनि नरहेको कुरा निश्चित गर्नु आवश्यक छ । उपकरण बन्द गर्दा कलम, एयरफोनलगायत सामग्री किबोर्डमा रहेमा यसले उपकरणको स्क्रिन कोर्ने सम्भावना रहन्छ । साथै, स्क्रिन बन्द गर्दा अत्यधिक बलको प्रयोग पनि गर्नुहुँदैन । यसो गरेमा समयान्तरमा उपकरण बांगिनेलगायत सम्भावना हुन्छ । उठाउ“दा सावधानी ल्यापटपलाई कहिल्यै स्क्रिनमा समाएर उठाउनु हुँदैन । यसका लागि सधैं बेसको प्रयोग गर्नुपर्छ । साथै, स्क्रिनमा चाप पर्दा डिस्प्ले सहजै बिग्रने सम्भावना पनि रहन्छ । त्यसैले, यसमा चाप नपरोस् भन्नेतर्फ विशेष सकर्तता अपनाउनुपर्छ ।

पावर कर्ड नतान्ने 

ल्यापटमा रहेको पावरकर्ड निकाल्दा सधैं प्लगमा समाएर निकाल्ने बानी बसाल्नु राम्रो हुन्छ । सिधै तार समाएर प्लग निकाल्दा यसले पावर कर्ड चुँडिन वा अन्य समस्या निम्तिन सक्छ । पावर कर्डमा कुल्चने, अल्झने, मेचको मुनि डुब्नेलगायत सम्भावनाबारे पनि विशेष सजग हुनु आवश्यक छ ।

अन्य उपाय

ल्यापटपमा हरेक तारका लागि विशेष स्लटको व्यवस्था गरिएको हुन्छ । कुनै पनि तार जडान गर्नुपूर्व कुन तारका लागि कुन स्लट दिइएको हो, यसबारे विशेष ध्यान दिनु आवश्यक छ । साथै, तार जडान गर्दा जबर्जस्ती बल प्रयोग कहिल्यै पनि
गर्नु हुँदैन ।उपकरणमा रहेका हटाउन मिल्ने सामग्रीबारे थप सहज हुनु आवश्यक छ । निकालिएका सीडी ड्राइभलगायत सामग्री काम सकिएलगत्तै यथास्थानमा जडान गर्ने वा तिनका लागि कुनै विशेष केसको व्यवस्था गर्नु राम्रो हुन्छ ।

तापक्रम परिवर्तनमा सजगता

विशेषगरी जाडो महिनामा ब्यागमा बोकिएका ल्यापटप कोठामा प्रवेश गरेलगत्तै अन गर्नु हुँदैन । कोठामा प्रवेशपश्चात् केही समय तापक्रम समायोजनका लागि उपकरणलाई समय दिनुपर्छ । साथै, प्रत्यक्ष ताप वा सूर्यका प्रकाशबाट समेत ल्यापटप जोगाउन विशेष सजगता अपनाउनुपर्छ ।

आन्तरिक सफाइ

करिब १ वर्षको समयान्तरालमा ल्यापटपलाई खोलेरै सफाइ गर्नु राम्रो हुन्छ । आफंैमा ल्यापटप खोल्ने क्षमता नभएमा यसका लागि तालिम प्राप्त प्राविधिकको सहयोग लिनुपर्छ । लामो समयसम्म धूलो जम्मा हुँदा उपकरणको चिस्यान प्रणालीलगायतमा खराबी आउन सक्छ । यसले ल्यापटपको मदरबोर्डलाई प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ । त्यसैले, यसतर्फ पनि ध्यान दिनुपर्छ ।

ल्यापटपमाथि किताब, ब्यागलगायत भारी तौलका सामग्री कहिल्यै राख्नुहुँदैन । भारी सामग्रीले एलसीडी स्क्रिन र किबोर्डबीच चाप उत्पन्न गराई उपकरणमै खराबी ल्याउन सक्छ । ल्यापटप बोक्न प्रयोग गरिने ब्याग उपयुक्त आकारको हुनु आवश्यक छ । ल्यापटपभन्दा ठूलो वा सानो आकारको भएमा यसले उपकरण कोर्ने, फुट्नेलगायन समस्या ल्याउन सक्छ । तर, उपयुक्त साइजको ब्यागले भने ल्यापटप खसिहालेमा पनि ठूलो क्षति हुनबाट जोगाउँछ ।

ल्यापटपको प्रयोग गर्दा सकेसम्म समतल सतहको प्रयोग गर्नुपर्छ । उक्त सतह सफा हुनु पनि उत्तिकै आवश्यक छ । खाटमा बसेरै ल्यापटप चलाउने बानी राम्रो होइन । यसरी चलाउँदा खाटमा रहेका फोहोरलगायत उपकरणको फ्यानले तान्ने हुँदा चलाउँदै जाँदा फ्यानको चिस्यान प्रणालीमै खराबी आउन सक्छ । ल्यापटपमा समयान्तरालमा प्रयोगविहीन तथा अनावश्यक सफ्टवेयर पनि स्टोर हुँदै जान्छन् । यसले ल्यापटपको स्टोरेजमा कमी ल्याउनुका साथै समग्र उपकरणमै खराबी ल्याउने सम्भावना रहन्छ । राजधानी दैनिकबाट 

#ल्यापटप

विशेष