खेल

सन्दीपआवद्ध दिल्लीले २०२० मा आइपीएल उपाधि जित्नसक्ने ४ आधार

सन्दीपआवद्ध दिल्लीले २०२० मा आइपीएल उपाधि जित्नसक्ने ४ आधार

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) को गत संस्करणमा दिल्ली क्यापिटल्स (डीसी) को प्रदर्शन राम्रै रह्यो । १२ औँ सिजनको आइपीएलमा दिल्ली ‘प्लेअफ’मा पुग्न सफल भएको थियो । तर,  चेन्नई सुपर किंग्ससँग पराजित हुँदा डीसी फाइनल पुग्न भने सफल भएन । दिल्लीले हालसम्म आइपीएल उपाधि जित्न सकेको छैन ।

आसन्न आइपीएलको उपाधि जित्नका लागि डीसीले तयारी सुरु गरिसकेको छ । उसले आइपीएल ‘अक्सन’बाट पनि चर्चित क्रिकेटरलाई टीममा भित्र्याएको छ । यसबीच आज दिल्लीले पहिलोपटक उपाधि जित्नसक्ने आधारका बारेमा चर्चा गर्दछौं । यी ४ आधारका कारण दिल्लीले आइपीएल उपाधि जित्न सक्छः

१. बलियो ब्याटिङः दिल्लीको ‘टप अर्डर’ आसन्न आइपीएलमा बलियो देखिन्छ । आइपीएल २०२० मा डीसीको टीमले राजस्थान रोयल्सबाट आजिंक्य रहाणे भित्र्याएको छ । उनको आगमनले दिल्लीको ब्याटिङ पक्ष झन बलियो भएको छ । डीसीसँग आजिंक्यसहित शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर, ऋषभ पन्त, शिमरोन हेटमायर, जोसन रोय, मार्कस स्टोइनिस, एलेक्स क्यारी जस्ता स्टार ब्याट्सम्यान छन् ।  

२. टीममा स्टार्स स्पिनरः दिल्लीको घरेलु मैदान फिरोश शाह कोटला हो । यो मैदान स्पिनरका लागि बढी उपयुक्त मानिन्छ । आसन्न संस्करणमा दिल्लीले स्टार अलराउन्डर रवीन्द्रन आश्विनलाई भित्र्याएको छ । उनीसहित दिल्लीसँग सन्दीप लामिछाने, अमित मिश्रा, अक्षर पटेल, अर्षल पटेल जस्ता स्टार स्पिनर पनि छन् ।  

३. सन्तुलित टीमः दिल्ली योपटक झन सन्तुलित टीम बनेको छ । डीसीसँग शानदार ब्याट्सम्यान, क्यालिटी   स्पिनर, स्टार फास्ट बलर छन् । दिल्लीसँग योपटक ऋषभ पन्तको विकल्पमा पनि विकेटकीपिर छ । दिल्लीले अक्सनबाट अष्ट्रेलियाका शानदार विकेटकीपर–ब्याट्सम्यान एलेक्स क्यारीलाई २ करोड ४० लाखमा टीममा अनुबन्ध गरेको छ । ब्याट्सम्यान, बलरदेखि विकेटकीपरसम्म नजर लगाउने हो भने दिल्लीको टीम योपटक झन सन्तुलित देखिन्छ । 

४. गेम चेन्जर्स खेलाडीः दिल्लीसँग हार्न लागेको खेल जिताउने खेलाडी छन् । टीममा ऋषभ पन्त, कागिसो रबाडा, रवीन्द्रन आश्विन, मिरोन हिटमायर जस्ता स्टार खेलाडी छन् । उनीहरुले टीम संकटमा परेको बेला माथि उकास्न सक्छन् । र, जित दिलाई छाड्न सक्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा खासै लयमा नदेखिएका पन्त आइपीएलमा भने सधैं शानदार ब्याटिङमा देखिन्छन् । उनी छक्का–चौकाको वर्षा गर्न माहिर छन् ।

पन्तले आइपीएल २०१९ को १६ म्याचमा १६२.६६ को स्ट्राइक रेटमा ४ सय ८८ रन बनाएका थिए । जसमा उनले ३ अर्धशतशक प्रहार गरेका थिए । दिल्लीसँग विश्व चर्चित स्टार फास्ट बलर रबाडा पनि छन् । गत संस्करणमा दिल्लीलाई ‘प्लेअफ’सम्म पुर्याउन रबाडाको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोलकाता नाइट राइडर्ससँगको ‘सुपर ओभर’को खेलमा रबाडाले दिल्लीलाई जिताएको पल अहिले पनि सबैकौ सम्झनामा आउँछ । 

२०२० को आइपीएलका लागि दिल्ली क्यापिटल्सको पूर्ण टीमः शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर, ऋषभ पन्त, इशान्त शर्मा, अक्षर पटेल, अमित मिश्रा, हर्ष पटेल, आवेश खान, कागिसो रबाडा, किमो पल, सन्दीप लामिछाने, अजिंक्या रहाणे, रविचन्द्रन आश्विन, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, जोसन रोय, क्रिस वोक्स, एलेक्स क्यारी, मोहित शर्मा, तुषार देशपान्डे र ललित यादव । 

आइपीएल इन्डियन प्रिमियर लिग दिल्ली क्यापिटल्स सन्ददीप लामिछाने

विशेष