मुख्य समाचार

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारी दर्ता आज

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारी दर्ता आज

काठमाडौंः राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ ।

आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने छ ।उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।

राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिने भएकाले निर्वाचन गर्न हुन लागेको हो ।  

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता हुन, प्रदेशसभाका सांसद र स्थानीय तह (गाउँपालिका–नगरपालिका) का ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता छन् । तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।  

उम्मेदवार राष्ट्रियसभा सदस्य निर्वाचन मनोनयनपत्र दर्ता

विशेष