खेल

रियलको शानदार जित, बराबरीमा रोकियो बार्सिलोना

रियलको शानदार जित, बराबरीमा रोकियो बार्सिलोना

काठमाडौंः स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । उता आज बिहान भएको म्याचमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले भने बराबरी खेल्यो । रियलले गेटाफेलाई ३–० ले हराउँदा बार्सिलोनाले स्पानियोलसँग २–२ को बराबरी खेलेको हो । 

गेटाफेलाई उसकै मैदानमा हराउने क्रममा रियल मड्रिडका लागि राफेल भरानेले ५३औं मिनेटमा गोल गरे, लुका मोड्रिचले ९० मिनेटपछिको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरे ।  ३४औं मिनेटमा गेटाफेका  डेविड सोरियाले आत्मधाती गोल गरेपछि रियलले अग्रता बनाएको थियो । 

लिग लिडर बार्सिलोनाले अन्मित समयमा गोल खाँदा जितबाट बञ्चित बन्यो । स्पानियोलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा बार्सिलोना १–० ले पछि प¥यो । स्पानियोलका डेभिड लोपेजले २३औं मिनेटमा गोल गरी बार्सिलोनालाई पछि पारेका थिए । 

दोस्रो हाफको ५०औं मिनेटमा स्वारेज र ५९औं मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोना अग्रता बनाउन सफल भयो । ७५औं मिनेटमा मिडफिल्डर डे जोङ दोहोरो पँहेलो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो । स्पानियोलका लागि ली वुले ८८औं मिनेटमा गोल गर्दा बार्सिलोना निराश बन्यो । 

बराबरीपछि पनि बार्सिलोना २० खेलबाट ४० अंककासाथ शीर्ष स्थानमा कायम छ । समान खेलबाट समान अंक रहेको रियल मड्रिड गोलअन्तरमा पछि रही दोस्रो स्थानमा छ । 

स्पेनिस ला लिगा रियल मड्रिड बार्सिलोना

विशेष