नेपालका दल र नेताहरु बाह्य शक्तिको इशारामा ( भिडियोसहित)
मुलुकको राजनीतिक अवस्था तरल छ । दुई तिहाइ गुमाएपनि बलियो बहुमत सरकारसँग छ तर आत्मविश्वास छैन । सरकारले अपेक्षाकृत काम गर्न नसकेको सत्तारुढ दलकै नेताहरु सहर्ष स्वीकार गर्छन् । अझ अमेरिकी सहयोग परियोजना एमसीसी र भारतसँगको सीमा विवाद लगायतका विषयले पेचिलो रुपमा आएपछि सरकारसँगै राजनीतिक दलहरु विभाजित हुन पुगेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरु चर्किएका बेला दलहरुमा देखिएको मतान्तरले अन्ततः मुलुक नै कमजोर हुने निश्चित छ । यो सबै १२ बुँदे समझदारी यता भएको राजनीतिक घटनाक्रमको प्रतिफल ठान्छन् राप्रपा संयुक्तका नेता राजाराम श्रेष्ठ । पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका श्रेष्ठले आफनो पार्टीको अबको रणनीति र राष्ट्रिय राजनीतिका पेचिला मुद्दामा केही गम्भीर टिप्पणी गरेका छन् । अन्तर्वार्ताका केही प्रमुख अंशहरु यस्ता छन् ः
क ) राष्ट्रपति विद्या भण्डारीलाई कार्यकारी बनाउने अभ्यास भैरहेको छ । यो काम स्वयं सरकारले गरिरहेको छ । यो भनेको लोकतन्त्रको चीरहरण हो ।
ख ) राष्ट्रपति राजसंस्थाको पदचाप पछ्याएर हिंडिरहेकी छन् । उनको कसरत पनि त्यस्तै छ । केही दिनअघि दलका नेताहरुलाई बोलाएर पार्टीगत चासो र निर्देशन एउटा उदाहरण हो । उनले अब श्रीपेच लगाउन मात्र बाँकी छ ।
ग ) राष्ट्रपतिको भूमिका निष्पक्ष छैन । उनी सत्तारुढ दल नेकपाको मात्र राष्ट्रपति भएको थुप्रै पटक अनुभव गर्नुपरेको छ ।
घ ) नेपालका राजनीतिक दल र तिनका नेताहरु विदेशीको इशारामा चलिरहेका छन् । १२ बुँदे सम्झौतापछि मुलुकमा विदेशीको चलखेल निकै बढ्यो । अहिले पनि त्यही शक्ति हावी छ । विस्तारै, १२ बुँदे पक्षधर शक्ति कमजोर हुन थालेको संकेत मिलिरहेको छ ।
ङ ) देश जोगाउने हो भने हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनस्र्थापना अनिवार्य छ । यसका लागि सबै दलहरु जनमतसंग्रहमा जान सक्नुपर्छ ।
च ) मुलुकको राजनीतिक निकासका लागि परम्परागत शक्ति र आधुनिक शक्तिबीच सम्झौता हुन जरुरी छ । यो नै राजनीतिक संकटमोचनको उपयुक्त सूत्र हो ।
छ ) गणतन्त्र र संघीयता असफल भइसक्यो । गणतन्त्रको ‘प्याकिङ’ राम्रो भयो, भित्र सडेगलेको बस्तु निस्कियो ।
ज ) यो सरकार अधिनायकवाद निस्कियो । जनताका अधिकार कुण्ठित गर्ने, प्रेस स्वतन्त्रता हनन गर्ने कानुन ल्याउन थाल्यो । यो लोकतन्त्रविरोधी गतिविधि हो । यसको सबैले डटेर सामना गर्नुपर्छ ।
झ ) सरकार नागरिक अधिकारविरुद्ध देखिएकाले यसलाई तह लगाउन वृहत प्रजातान्त्रिक गठवन्धनको आवश्यकता छ । सबै प्रजातान्त्रिक शक्तिहरु एकजुट भएर वर्तमान कम्युनिष्ट शासन प्रणालीविरुद्ध क्रान्तिमा उत्रिनु पर्छ ।
ञ ) मुलुक विदेशीको क्रिडास्थल बन्यो । यो अवसर अहिलेको वामपन्थी सरकारले दियो । विदेशीको सामु घुँडा टेक्ने र नेपालीको घाँटी थिच्ने यसको प्रवृति देखियो ।
ट ) मुलुक तस्करहरुले चलाएका छन् । वित्तीय अपराधीको हातमा मुलुकको आर्थिक क्षेत्र छ । सुशासन कतै छैन । सरकारमै सहभागी भएकाहरु भ्रष्टाचारी छन् ।
ठ ) वर्तमान सरकारका गलत गतिविधिबारे जनतालाई जानकारी गराउन राप्रपा संयुक्त जनतामाझ जाँदैछ । उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यस सम्बन्धी छलफल गरी निर्णयसमेत गरिसकेको छ ।
ड ) राप्रपा संयुक्त र राप्रपाबीच एकताको पहल जारी छ । एकीकृत पार्टीमा ३ वटा अध्यक्ष राख्ने सहमति भइसकेको छ । अब चाँडै एकता घोषणा हुनेछ ।