अधिनायकवादको धरातलमा बसेर अधिनायकवाद परास्त हुँदैन ( भिडियोसहित)
सरकारलाई अधिनायकवादको आरोप लगाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रै सभापति शेरबहादुर देउवामाथि अधिनायकवादको आरोप लागेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाक्दै पछिल्लो केन्द्रीय समिति बैठकबाट अधिनायकवादको शैलीमा भएका निर्णय खारेज गर्न नेतृत्वलाई दवाव दिएका छन् ।
उता, संस्थापन पक्षले विधि विधानको कुरा गर्ने पौडेल समूह आफै विधान विपरित गतिविधि गर्दै हिंडेको आरोप लगाएको छ । यीनै सन्दर्भसहित राष्ट्रिय राजनीतिका केही विषयमा हामीले कांग्रेस नेतृ रीता खनालको बिचार बुझेका छौं ।
नेतृ खनालसंगको कुराकानीका महत्वपूर्ण अंश यस्ता छन् :
क ) कांग्रेसको अहिलेको अवस्थाले नेता कार्यकर्ता लज्जित छन् । उनीहरुमा पार्टीप्रति चिन्ता बढेको छ ।
ख ) पार्टीका वरिष्ठ नेताहरुलाई पन्छाएर महाधिवेशन, विभाग गठन लगायतका विषयमा केन्द्रीय समिति बैठकले बहुमतबाट निर्णय गर्नु गलत थियो, त्यो सच्याउनु पर्छ ।
ग ) संस्थापन र संस्थापनइतर दुवै पक्षबाट भएका कमजोरीको समीक्षा गर्नुपर्छ । कांग्रेस एक ढिक्का हुनुको विकल्प छैन ।
घ ) अधिनायकवादको धरातलमा बसेर सरकारले लादेको अधिनायकवाद परास्त गर्न सकिदैन । पार्टी भित्रको निरंकुश शैली र अधिनायकवाद अन्त्य गर्नु पहिलो आवश्यकता हो ।
ङ ) पार्टीमा गुटवन्दी छ, यो पार्टी भित्रका गलत कामलाई सच्याउन प्रयोग हुनुपर्छ । वरिष्ठ नेता पौडेलले थालेको अभियान सभापति देउवाबाट भएका कमजोरीलाई सुधार्न हो, पार्टीमा विग्रह ल्याउन होइन ।
च ) अहिले कांग्रेसले सरकारका गलत कामको पनि प्रतिवाद गर्न सकेको छैन । कम्युनिष्टहरुका कारण मुलुक धनवाद र डनवादमा गैसक्यो । मुलुकभर भ्रष्टाचारै भ्रष्टाचार । केन्द्रको के कुरा भो वडा वडामा छोटे राजाहरु छन् ।
छ ) न्यापालिका स्वतन्त्र छैन । कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामाथि हावी छ । यसले शक्ति पृथकीकरणको सिद्धान्तका खिल्ली उडाउने मात्र होइन, लोकतन्त्र नै समाप्त होला भन्ने चिन्ता भयो ।
ज ) संसदलाई सरकारको रबर स्ट्याम्प बनाउन खोजियो । संसदीय समितिबाट सूचना प्रविधि विधेयक पारित हुन विडम्बनापूर्ण हो । कानुन बनाएर मुलुक कब्जा गर्ने प्रयास हुँदैछ । तर, सत्य के हो भने अधिनायकवादको आयु लामो हुँदैन ।
झ ) राष्ट्रपतिको भूमिका निष्पक्ष हुन सकेन । खुलेआम सत्तारुढ दल नेकपाको इशारामा काम गरेको देखियो । उहाँले प्रथम राष्ट्रपति डा.रामवरण यादवले राखेको गरिमा कायम गर्न सक्नु भएन ।
ञ ) राष्ट्रपतिको जीवनशैली राजामहाराजा जस्तो भयो । उहाँले आफनो जीवनशैली सरल बनाएर जनताको सुविधामा ध्यान दिनुपर्छ । आफै महिला भएर पनि महिलाहरुका लागि के गर्न सक्नु भएन । अझ निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाही गर्न चासो समेत नदिएकोमा आश्चार्य लागेको छ ।
ट ) आज कुनैपनि पार्टीमा निष्ठा छैन । यसले राजनीतिक दल र नेताप्रति वितृष्णा बढाएको छ । नेताहरु मुलुक र जनताप्रति समर्पित नभए जनताले अवश्य सजाय दिनेछन् ।