याे वर्ष हिउँदे वर्षा लम्बिने, भू–मध्य सागरमा बनेको न्यूनचापीय प्रणाली नेपाल प्रवेश
काठमाडौंः यस वर्षको हिउँदे वर्षा लम्बिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । छिटो हिउँदे वर्षा सुरु भएर पनि यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढेको महाशाखाले जनाएको हो । नेपालमा अहिलेसहित तीनपटक हिउँदे वर्षा भइसकेको छ ।
हिउँदे वर्षा कायम रहेका बेला तापक्रममा ह्वात्तै गिरावट नआए पनि चिसो भने लामै समय रहने अनुमान महाशाखाले गरेको छ । महाशाखाका मौसमविद् बरुण पौडेलका अनुसार अझै पनि हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सक्रिय रहेकाले थप वर्षा हुने क्रम जारी रहने छ । पौडेलले भने, ‘दुई–तीन दिन कायम रहेर छिटो वर्षा सकिने तर फेरि अर्को वर्षा भइहाल्ने खालको वर्षा चक्र चलिरहेको छ । औसतमा गएको वर्षभन्दा यसपटकको वर्षाको दर पनि बढेको छ ।’ वर्षासँगै हिमपात पनि गएको वर्षभन्दा बढी भएको महाशाखाले विश्लेषण गरेको छ ।
तेस्रो पटकको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हो । जसका कारण मङ्गलबारदेखि नै देशभर बदलीको अवस्था कायम रह्यो । बुधबार बिहानैदेखि देशका विभिन्न भूभागमा वर्षा सुरु भएको मौसमविद् पौडेलले जानकारी दिए ।
बुधबार र बिहीबार पानी पर्ने क्रम उस्तै रहन्छ, शुक्रबारदेखि भने मौसम केही खुल्नेछ । उनका अनुसार देशको पश्चिमदेखि पूर्वसम्मका सबै आकाश बादलले ढाकेको छ। उच्च हिमाली र पहाडी भेगमा हिमपात सुरु भएको छ भने मध्य तथा तल्लो भेगमा वर्षा सुरु भएको छ। सुदूरपश्चिममा बिहीबार साँझ नै मौसम सुधार हुने सङ्केत रहे पनि अन्यत्र भने शुक्रबारबाट मात्र सुधार हुने उनले बताए ।
न्यूनचापीय प्रणाली हिउँदे वर्षा