मुख्य समाचार

नेकपा संसदीय दलको बैठक सुरु, राजधानी–नाममा सहमति जुटाउने प्रयास जारी

नेकपा संसदीय दलको बैठक सुरु, राजधानी–नाममा सहमति जुटाउने प्रयास जारी

हेटौँडाः प्रदेश ३ को स्थायी राजधानी र नामको बारेमा छलफल गर्न तीन दिनपछि पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । प्रदेशको स्थायी राजधानी र नामको बारेमा सहमति जुटाउन बिहीबार विहानबाट मुख्यमन्त्री निवासमा बैठक बसिरहेको छ ।

नेकपाको सचिवालय बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वागमती प्रदेश राख्न नेकपा प्रदेश कमिटी र प्रदेश संसदीय दललाई दिएको निर्देशनमाथि संसदीय दलको बैठकमा फरक मतहरु आएपछि आइतबार बैठक बसेर मङ्गलबार बस्ने गरी स्थगित गरिएको थियो । मङ्गलबार बस्ने गरी बोलाइएको बैठकमा सहमति नजुट्ने देखिएपछि नेताहरु बैठक स्थगित गरेर काठमाडौँ लागेका थिए । 

गत शुक्रबार सुरु भएर तीन दिनसम्म चलेको को प्रदेश संसदीय दलको बैठकमा दुई नेतासहित ६४ जनाले धारणा राखेकोमा अधिकांश प्रदेश सभाका सदस्यहरुले नाम र स्थानप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

सहमति सम्भावना नदेखिएको पार्टी केन्द्रलाई जानकारी गराएपछि नेकपा प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यलगायतका नेतालाई काठमाडौँ बोलाइएको थियो । पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँमा भएको छलफलमा नेकपा प्रदेश कमिटीका इन्चार्ज शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशका मन्त्रीहरु र केही प्रदेश सभाका सदस्यहरुलाई पुनः प्रदेश राजधानी हेटौँडा र बागमती प्रदेश राजधानी रहने पुनः निर्देशन दिएका थिए । 

नेकपाका प्रदेश कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको संसदीय दलको जारी बैठकमा पार्टी नेतृत्वको निर्देशन सुनाइने र सहमतिको गरिने जनाइएको छ । बैठकमा पार्टी प्रदेश कमिटीसहित यसअघि बोल्न बाँकी रहेका प्रदेश सभाका सदस्यहरु र प्रदेश मन्त्रीले बोल्ने कार्यक्रम तय भएको छ ।

पार्टी नेतृत्वको निर्देशनपछि पनि बुधबारको प्रदेश सभा बैठकमा बोल्ने नेकपाका भक्तपुर, काभ्रेलगायतका जिल्लाका प्रदेश सभाका सदस्यहरुले प्रदेश राजधानी हेटौँडा अपायक हुने र पहिचानको आधारमा राजधानीको नाम राख्नुपर्ने धारणा राखेका थिए । 

काभ्रे, भक्तपुर र नुवाकोटमा प्रदेश सभाका सदस्यले आफ्नो जिल्लामा र ती जिल्ला आसपासमा नेकपाका प्रदेश सभाका सदस्यहरुले आफू अनुकूलका जिल्लामा प्रदेश राजधानी हुनुपर्ने जिकिर गरेका थिए । 

हेटौंडा नेकपा संसदीय दल बैठक

विशेष