‘लोकल भाले’ खानेहरु ठगिदै ( भिडियोसहित)
तपाई काठमाडौंमा लोकल कुखुराको मासु भनेर महंगोमा किनेर खाँदै हुनुहुन्छ भने सरासर ठगिदै हुनुहुन्छ । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेलवासेका अनुसार काठमाडौं लगायत बिभिन्न शहरमा लोकल भनेर विक्री हुने कुखुरा र ब्रोइलर कुखुरामा केही फरक छैन ।
लोकल भनिने कुखुरा र ब्रोइलरको रंग मात्र फरक हो । उनीहरुको खानेकुरा र हुर्किने तरिका एउटै हो । लोकल भनेको गाउँघरमा यताउता जाने, उफ्रिने, बिभिन्न कुराहरु चरेर खान कुखुरा हो । त्यस्ता कुखुरा शहरमा मात्र होइन अहिले गाउँमा समेत पाइदैनन् । अहिले लोकल भनिने कुखुरालाई ब्रोइलरलाई जस्तै एकैठाउँमा राखेर टन्न खानेकुरा दिएर हुर्काउने गरिन्छ ।
अध्यक्ष बेलवासे भन्छन्, ‘यसकारण लोकल भनेर महंगो तिर्नु भन्दा ब्रोइलर खानु नै उत्तम छ ।’
बेलवासेका अनुसार ह्याचरी संघले कुखुराका चल्ला र अण्डा नष्ट गर्नु गम्भीर गल्ती हो । यो विषयमा सरकारले अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्छ । तर, सत्यकुरा के हो भने चल्ला नष्ट गरेर कुखुराको मूल्य बढेको होइन । चल्ला नष्ट गरेपनि नगरेपनि यो सिजनमा कुखुराको मूल्य सधैं बढ्ने गरेको छ ।
तथ्याङ्क पेश गर्दै बेलवासे भन्छन्, ‘ २०७१ सालदेखि २०७६ सालसम्म यो सिजनमा कुखुराको मूल्य प्रतिकेजी ३९० रुपैयाँ हुने गरेको छ । अहिले उत्पादन बढेपछि घट्नेक्रम सुरु भैसकेको छ । कुखुरा हुर्काउन चाहिने अनाज दाना लगायतको मूल्य तेब्बर चौबर बढ्दा समेत हामीले कुखुरा सस्तोमा खुवाउन सकेको छौं । ’
कुखुरा व्यवसायी संकटमा पर्नुको कारण यसको महङ्गोमा दाता आयात गर्नुपर्ने बाध्यता, चर्को भन्सार शुल्क र निर्यात शून्य हुनु रहेको बेलवासे बताउँछन् । कुखुराका लागि आवश्यक दाना मध्ये ८० प्रतिशत भारतबाट आयात हुन्छ । सरकारले १ प्रतिशतबाट बढाएर १० प्रतिशत भन्सार कर असुल्छ । औषधी पनि महंगिएको छ । यो अवस्थामा कुखुरा हुर्काउँदा लागत पनि बढेको बुझनुपर्छ । यति हुँदा पनि कुखुराको मासु १७ वर्षदेखि समान छ ।
अहिले कुखुरा प्रतिकेजी चारसयको हाराहारीमा पुगेपछि व्यवसायी नाफामा रहेको बेलवासेको भनाइ छ । प्रति केजी १० रुपैयाँदेखि ३० रुपैयाँसम्म किसानले नाफा आर्जन गरिरहेका छन् ।
नेपालमा कुखुराको मासुप्रति आकर्षण बढिरहेकाले केही वर्षपछि खसी र राँगाको मासु खाने उपभोक्ता नै नहुने बेलवासीको दावी छ । तर, कुखुराको मासु निर्यात गर्न स्वदेशमै कच्चा पदार्थ उत्पादन गर्न सक्नुपर्ने उनको तर्क छ । यसका लागि कृषी उत्पादन बढाउन जरुरी छ । अन्यथा अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सकिदैन ।