हालसम्म यू–१९ विश्वकपको फाइनलमा भारतीय कप्तानको रन (सूचीसहित)
काठमाडौंः दक्षिण अफ्रिकामा आइतबार राति सम्पन्न यू–१९ विश्वकपको फाइनलमा भारतीय टीमका कप्तान प्रिमय गर्गको ब्याट चलेन । उनको ब्याट नचल्दा बंगलादेशसँगको फाइनल म्याचमा भारत १ सय ७७ रनमै सेमटिन पुग्यो । फाइनलमा कप्तान प्रियमले ७ रन मात्र बनाउन सके । उनको विकेट पतनसँगै भारतीय अन्य खेलाडी पनि सस्तैमा आउट हुन पुगे । यू–१९ विश्वपको फाइनलमा प्रियमको मात्र नभई यसअघिका अधिकांश भारतीय कप्तानको ब्याट नचलेको पृष्ठभूमि छ ।
भारतको तर्फबाट यू–१९ विश्वकपको फाइनलमा हालसम्म भारतीय कप्तानका रुपमा उन्मुक्त चन्दले मात्रै शतक बनाएका छन् । उनले २०१२ को यू–१९ फाइनलमा अविजित १११ रन बनाउँदै टीमलाई उपाधि दिलाएका थिए । यसका अलावा कुनै पनि भारतीय कप्तानले यू–१९ फाइनलमा शतक बनाउन सकेका छैनन् ।
भारतीय टीमले सात पटक यू–१९ विश्वकपको फाइनलमा स्थान बनाउँदा ६ चोटि कप्तानले ठूलो रन बनाउन सकेनन् । हाल भारतीय टीमको नेतृत्व गरिरहेका विराट कोहलीले पनि २००८ को फाइनल म्याचमा मात्र १९ रन बनाएका थिए । यद्यपि उनले भारतीय टीमलाई विश्वकपको उपाधि दिलाएका थिए ।
हालसम्म यू–१९ विश्वकपको फाइनल भारतीय कप्तानको रनः मोहम्मद कैफ–१८ रन (२०००), रविकान्त शुक्ला–१ रन (२००६), विराट कोहली–१९ रन (२००८), उन्मुक्त चन्द–१११ रन (२०१२), इशान किशन–४ रन (२०१६), पृथ्वी शा–२९ रन (२०१८) र प्रिमय गर्ग–७ रन (२०२०) ।
बंगलादेशले जित्यो पहिलो पटक यू–१९ विश्वकपको उपाधि
दक्षिण अफ्रिकामा भएको आइसीसी यू–१९ विश्वकपको उपाधि बंगलादेशले जितेको छ । आइतबार राति भारतीय टीमलाई डक वर्थ लेविस (डीएल) पद्धतिको आधारमा ३ विकेटले हराउँदै बंगलादेशले पहिलोपटक यू–१९ विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२.१ओभरमा पूरा गर्यो । उसका लागि परवेज हुसेन इमोनले ४७, कप्तान अकबर अलिले अविजित ४३, तनजिद हसनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा भारतीय टीमका रवि बिश्नोईले ४, सुशान्त मिश्रामले २ र यशस्वी जयस्वालले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले ४७।२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि यसस्वी जयसवालले उत्कृष्ट ब्याटिङ गरे । उनले १२१ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ८८ रन बनाए । यस्तै तिलक बर्माले ३८ र ध्रुव जुरेलले २२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा बंगलादेशी टीमका अभिष्यक दासले ३, शरीफुल इश्लाम, तन्जिम हसन शकीबले २–२ र रकिबुल हसन ले एक विकेट लिए ।
विराट कोहली यू–१९ विश्वकप