खेल

यू–१९ विश्वकप फाइनलः भारत र बंगलादेशी खेलाडीलाई आइसीसीको कारवाही

यू–१९ विश्वकप फाइनलः भारत र बंगलादेशी खेलाडीलाई आइसीसीको कारवाही

काठमाडौंः आइतबार राति दक्षिण अफ्रिकामा सकिएको यू–१९ विश्वकपको फाइनल म्याचपछि खेलाडीले अनुशासनहीन ब्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले पाँच खेलाडीलाई कारवाही गरेको छ । आइसीसीले बंगलादेशका तीन र भारतका दुई  खेलाडीलाई कारवाही गरेको हो । आइसीसीले उनीहरुलाई कारवाहीस्वरुप ‘मेरिट पोइन्ट’ घटाएको छ ।

आइसीसीका अनुसारबंगलादेशका टोविद हृदय, शमिम हुसेन र रकिबुल हसनको ६ अंक घटाइको हाे । यस्तै आइसीसीले भारतका आकाश सिंह र रवि विश्नोईलाई पाँच अंकको कारवाही गरेको छ । विश्नोई प्रतियोगिताका धेरै विकेट लिने बर पनि हुन् । उनलाई अपशब्द बोलेका कारण आइसीसीले थप दुई अंकको कारवाही गरेको हाे । 

खेलका दौरान दुवै टिमका खेलाडीले एकअर्कालाई संकेत गर्दै आक्रामक व्यवहार देखाएका थिए भने कतिपय स्थितिमा भनाभन समेत भएको थियो । ‘जे नहुनु पर्ने थियो त्यो भयो’ बंगलादेशका कप्तान अकबर अलीले भने, ‘ठ्याक्कै के भयो त्यो मलाई थाहा त छैन। तर फाइनलमा भावनात्मक हुनु स्वभाविक हो। कहिलेकाँही खेलाडी बढी नै उत्साहित भएर हर्कत गर्न सक्छन्। युवा अवस्थामै यस्तो हुनुहुन्न। हामीले विपक्षी र खेललाई सम्मान गर्नु पर्छ।’

बंगलादेशलाई पहिलोपटक यू–१९ विश्वकपको उपाधि

दक्षिण अफ्रिकामा भएको आइसीसी यू–१९ विश्वकपको उपाधि बंगलादेशले जितेको छ । आइतबार राति भारतीय टीमलाई डक वर्थ लेविस (डीएल) पद्धतिको आधारमा ३ विकेटले हराउँदै बंगलादेशले पहिलोपटक यू–१९ विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२.१ओभरमा पूरा गर्‍यो । उसका लागि परवेज हुसेन इमोनले ४७, कप्तान अकबर अलिले अविजित ४३, तनजिद हसनले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा भारतीय टीमका रवि बिश्नोईले ४, सुशान्त मिश्रामले २ र यशस्वी जयस्वालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि यसस्वी जयसवालले उत्कृष्ट ब्याटिङ गरे । उनले १२१ बलमा १ छक्का र ८ चौका प्रहार गर्दै ८८ रन बनाए । यस्तै तिलक बर्माले ३८ र ध्रुव जुरेलले २२ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा बंगलादेशी टीमका अभिष्यक दासले ३, शरीफुल इश्लाम, तन्जिम हसन शकीबले २–२ र रकिबुल हसन ले एक विकेट लिए ।

यू–१९ विश्वकप आइसीसी

विशेष