स्वास्थ्य

बहुउपयोगी छ टिमुर, यस्ता छन् फाइदा

बहुउपयोगी छ टिमुर, यस्ता छन् फाइदा

काठमाडौंः नेपाली टिमुर अहिले विश्व बजारमा लोकप्रिय हुँदै गएको छ । फ्रान्स र जर्मनीलगायत विश्वका विभिन्न देशमा यो बर्सेनि निर्यात हुन्छ । त्यस्तै, छिमेकी देश भारतमा यसको निर्यात बढी हुने गरेको छ । टिमुर नेपालको पश्चिमी क्षेत्रमा बढी उत्पादन हुन्छ । यो महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्मको उचाइका खुला पाखामा पाइन्छ ।

सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकले टिम्मुरको खेती बढी गर्छन् । टिमुर एकपटक रोपेपछि यसले धेरै वर्षसम्म फल दिइरहन्छ । मसला र औषधिका रूपमा प्रयोग हुने भएकाले स्थानीय किसान यसप्रति आकर्षित हुन थालेका हुन् । 

परिकार र प्रयोग

–नेपालमा टिमुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायी हुन्छ ।

–टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ । 

–जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।

–नेपालमा टिमुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।

–गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।

–युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

टिमुर

विशेष