ब्रजिलका महान् फुटबलर पेले घरबाहिर निस्किन किन मान्छन् संकोच?
बीबीसीः ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन् । छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन् । तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो ।
उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ । उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ । केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने थालेका थिए । "उहाँ अचेल एकान्तप्रेमी अनि बाहिर निस्किँदा आफ्नो अवस्थाका कारण लजाउने हुनुभएको छ," छोरा एडिन्योले टीभी ग्लोबोलाई बताए ।
आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए । सो अवधिमा उनले ब्रजिलका लागि ९१ खेलमा ७७ गोल गरे । तीनवटा विश्वकप जित्ने उनी एक मात्र खेलाडी हुन् ।
ब्रजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबल जितेको थियो। उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरे । उनलाई फिफाका 'शताब्दी खेलाडी' को उपाधि दिइएको थियो । आगामी जुन महिनामा पेलेले आफ्नो अन्तिम विश्वकप फाइनल जितेको ५० वर्ष पुग्दैछ । मेक्सिकोमा भएको उक्त खेलमा सहभागी ब्रजिलको टोलीलाई कतिपयले हालसम्मकै उत्कृष्ट टोली भन्ने गर्छन् । पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन् ।
सन् २०१५ मा उनको प्रोस्टेट अर्थात् पौरुषग्रन्थिको शल्यक्रिया गरिएको थियो । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो । "उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो, तर आज राम्ररी हिँडडुल गर्न सक्नुहुन्न," एडिन्योले भने । "उहाँलाई अचेल सङ्कोच लाग्छ, उहाँ बाहिर जान चाहनुहुन्न, देखिन चाहनुहुन्न । उहाँ कमजोर हुनुभएको छ ।" "कम्मर प्रतिस्थापन गरियो तर पर्याप्त पुनर्स्थापना हुन सकेन । त्यसैले हिँडडुल गर्दा समस्या हुन्छ र उहाँमा एक किसिमले डिप्रेशनजस्तो भएको छ," उनले भने ।
पेले