खेल

टी–२० सिरिजः दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ रनले हरायो

टी–२० सिरिजः दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ रनले हरायो

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग इंग्ल्याण्ड १ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि ओपनर जसन रोयले विस्फोटक ब्याटिङ गरे पनि टीमलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा ३ छक्का र ७ चौकासहित ७० रन बनाए । यस्तै कप्तान इओन मोर्गनले ५२, जोनि बेयरिस्टोले २३, जस बटलरले १५ रनकाे योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा दक्षिण अफ्रिकाका लुंगि एन्गिडीले ३, एन्डिले फेहलक्वायो, ब्युरान हेन्ड्रिक्सले २–२ र डेल स्टेनले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय७७ रन बनायो ।

उसका लागि तेम्बा बवुमाले ४३, कप्तान क्विन्टन डीकक, रसी भ्यान डर दुसेनले ३१–३१, जोजो स्मुट्सले २०, डेविड मिलरले १६, एन्डिले फेहलक्वायोले १८ रन बनाए । बलिङमा इंग्ल्याण्ड टीमका क्रिस जोर्डनले २, बेन स्टोक्स, मार्क उड, टम करन, मोइन अलि र आदिल रशिदले एक–एक विकेट लिए ।

यो जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यी दुई टीमको दोस्रो खेल शुक्रबार हुनेछ । 

टी–२० क्रिकेट सिरिज दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्ड

विशेष